कांग्रेसको महासमितिको बैठक सुरु , सांगठनिक प्रतिबेदनमा सभापति देउवा र महामन्त्री थापाको कुरा मिलेन


प्रकाशित मिति : फाल्गुन ७, २०८० सोमबार

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा शुरु भएको छ । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभएको छ । उद्घाटन समारोहमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने दोहोर्याउनुभएको छ । देउवाले जति बेला गठबन्धनको आवश्यकता पर्छ त्यति बेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।

बैठकमा २ हजार १ सय पाँच जना सहभागी छन् । बैठकमा केन्द्रीय समितिका १ सय ६५ जना, सङ्घीय निर्वाचन क्षेत्रबाट १ हजार सात सय ८० जना, जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापतिलगायत सहभागी भएका कांग्रेसले जनाएको छ ।

बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुनेछ । यस्तै महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुहुनेछ ।

प्रवक्ता डा प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

महामन्त्री थापाको प्रतिबेदनमा चुनावअघि गठबन्धन बनाएर जान नहुने उल्लेख गरिएपछि सभापति देउवा ले सच्चाउन निर्देशन दिनुभएको छ । तर महामन्त्री थापाले कांग्रेसलाई जोगाउन र भरोषायुक्त पार्टी बनाउन चुनाव अघि गठबन्धन आबश्यक नरहेको भन्दै नसच्चाउने अडान लिइरहनु भएको छ । सभापति र महामन्त्री थापा बिचको असमझदारीलाई सुल्झाउन शिर्षनेताहरु लागिरहेका छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com