कारागारका कैदीबन्दीले मासिक १५ हजार सम्म कमाई गर्दै


प्रकाशित मिति : फाल्गुन १, २०८० मंगलबार

कारागार भन्ने वित्तिकै विभिन्न अपराधमा संलग्न भएर सजाय काट्न पठाइने ठाउँको रुपमा लिने गरिन्छ । पछिल्लो समय चितवन जिल्ला कारागारमा रहेका कैदीबन्दीमध्ये दुई सयभन्दा बढी घरेलु उद्योगमा व्यस्त हुन थालेका छन् । यहाँ विभिन्न किसिमका सीपमूलक काममार्फत उनीहरु उद्योगमा लागेका हुन् ।

विशेष गरी लामो समयसम्मका लागि कैद सजय तोकिएका, घरको आर्थिक अवस्था कमजोर भएका कैदीबन्दी घरेलु उद्योगको काममा आकर्षित भएका कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार बत्ती कात्ने, मुढा बुन्ने, गलौँचाको काम, सिलाइ कटाइलगायत काममा उनीहरु व्यस्त छन् ।

कारागार कार्यालयमा रहेका सात सय ५५ कैदीबन्दीमध्ये ८० जनाले बाँसको मुढा बुन्ने, ८० ले गलैँचाको काम गर्ने गरेका ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिलाइकटाइमा सात, बत्ती कात्ने २०, खेलाउना बनाउनेमा एक जनाले काम गरिरहेका छन् ।

आन्तरिक प्रशासनअन्तर्गत विभिन्न काममा कारागारका कैदीबन्दी लाग्ने गरेका कार्यालयका सूचना अधिकारी ढुङ्गानाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ रहेका कैदीबन्दी कुनै न कुनै काममा व्यस्त रहने गरेका छन् ।” गलैँचाको तान ४२ वटा रहेको जानकारी दिँदै उहाँले यी तानमा काम गर्न इच्छु एक सय २० जनाले रोजगार पाउने उहाँले जानकारी दिनुभयो ।

कारागारभित्र काम गरेर कैदीले मासिक रु पाँच हजारदेखि १५ हजारसम्म कमाउने गरेको ढुङ्गानाको भनाइ थियो । कारागारभित्र घरेलु उद्योगबाहेक विभिन्न खेलकुदमा कैदीबन्दी सहभागी हुने गरेका उहाँले बताउनुभयो ।

कार्यालयका सूचना अधिकारी ढुङ्गानाका अनुसार यहाँ उत्पादित सामान जिल्लासहित काठमाडौँ, पोखरालगायत क्षेत्रमा बिक्रीका लागि पुग्ने गरेका छन् । कारागारबाट मासिक साधारण खालका चार सय र विशेष खालाका तीन सय मुढा बिक्री हुने गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com