मधेस र शहरमा बलियो बन्न माओवादी केन्द्रले बिशेष अभियान चलाउने,निस्कृय नेताहरुलाई कारवाहीको चेतावनी


प्रकाशित मिति : माघ २९, २०८० सोमबार

नेकपा माओवादी केन्द्रले सहरी क्षेत्र र तराई–मधेशमा विषेश अभियान सञ्चालन गर्ने भएको छ । साङ्गठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, सङ्गठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिए पछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ ।

यस्तै माओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व–पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरुले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका साथै शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

अभियानमा नखटिनेलाई कारबाही
माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष अभियान’नखटिने पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । अभियानमा नखटिने कार्यक्षेत्रमा नखट्ने कार्यकर्तालाई स्पष्टिकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने पार्टीले निर्णय गरेको छ ।

प्रवक्ता सापकोटाका अनुसार शतप्रतिशत खटिने कार्यकर्तालाई प्रशंसापत्र वितरण गरिने छ । यस्तै, ७५ देखि ८० प्रतिशतसम्म खटिने कार्यकर्तालाई धन्यवादपत्र दिइनेछ । यस्तै, ५० देखि ५५ प्रतिशतसम्म खटिने कार्यकर्तालाई थप परिचालित हुन निर्देशन दिइने छ ।

पन्ध्र प्रतिशतभन्दा कम खटिनेलाई स्पष्टीकरण लिने, निलम्बन गरिनेलगायत कारबाही प्रक्रिया अगाडि बढाउने पार्टीले निर्णय गरेको छ । यस्तै, विशेष विधान सम्मेलन सम्पन्न भएपछि विशेष महाधिवेशनको तयारीमा जुट्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com