बिदेशबाट फर्किएर उत्कृष्ट उद्यम गर्नेलाई १ लाख ५० हजार पुरस्कार दिने सरकारको तयारी


प्रकाशित मिति : माघ २९, २०८० सोमबार

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उत्कृष्ट उद्यम गर्नेहरुलाई नगद सहित सम्मान गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आवेदकमध्ये एक जना सर्वोत्कृष्ट उद्यमीले १ लाख ५० हजार रुपैयाँको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछ । बाँकी सात जनाले ७५ हजार रुपैयाँको उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने छन् ।

वर्किङ भिसामा विदेशमा कम्तीमा १ वर्ष काम गरी फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा १ वर्ष पूरा भएको हुनुपर्नेछ । आवेदकले विगत ६ वर्षभित्र श्रम मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार प्राप्त नगरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । सम्मान तथा पुरस्कारका लागि फागुन १५ गतेभित्र आवेदन दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, श्रम स्वीकृति लिएको निस्सा, भिसासहितको राहदानी, आयकर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि तथा यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणा आवेदनका साथमा पेस गर्नुपर्ने हुन्छ ।

प्राप्त आवेदनमध्येबाट वातावरणमैत्री प्रविधि प्रयोग तथा प्रदूषण व्यवस्थापन, स्रोत र प्रविधिको प्रयोग, रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय साधन, उत्पादन निर्यात, सामाजिक दायित्व वहन लगायतका आधारमा छनोट गरिने छ । प्राप्त आवेदनमध्येबाट उत्कृष्ट उद्यमीलाई सम्मान गरिने मन्त्रालयले जनाएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com