चेपाङको हत्या भएको खुलासा, तीन पक्राउ


प्रकाशित मिति : श्रावण २५, २०७४ बुधबार

चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षीय हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा हत्या भएको खुलेको जानकारी दिनुभयो । व्यक्तिगत रिसका कारण छिमेकीले नै हत्या गरेको पाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

यही साउन २१ गते उनलाई सोही गाउँपालिकाको डुकराङस्थित मकैबारीमा मृत फेला पारिएको थियो । अनुसन्धान गर्दै जाँदा उनलाई साउन १८ गते राति धनबहादुर चेपाङसहित मिलेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले घाँटीमा डोरीले कसी कुटपिटपछि हत्या गरेर भिरबाट फालेको पाइएको प्रहरीले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा सोही गाउँपालिका–१, जैते बस्ने २९ वर्षका रमेश चेपाङ, सोही गाउँका १९ वर्षीय सन्देश चेपाङ र ३० वर्षका धनबहादुर चेपाङ पक्राउ परेका छन् ।

दुई जनालाई यसअघि नै पक्राउ गरिएको र फरार हुँदै आएका धनबहादुरलाई भने मंगलबार पक्राउ गरी अनुसन्धान थालिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com