उनन्चालिस खानीको प्रमाणपत्र रद्द


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

काठमाडौँ, २४ साउन । खानी तथा भूगर्भ विभागले खनिज अन्वेषण तथा विकास आयोजनाअन्तर्गत आर्थिक वर्ष २०७३/७४ मा ३९ खानीको खानी उत्खनन तथा खोजतलास प्रमाणपत्र रद्द गरेको छ ।

विभागले उत्खननका लागि प्रमाणपत्र लिएका तर समयमा काम नगरेका ती खानीको खोजतलास प्रमाणपत्र रद्द गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाले देशभरका ३६७ खानीलाई प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

दुई सय सात खानी खोजतलासको प्रमाणपत्र नवीकरण, ७६ खानी उत्खनन प्रमाणपत्र नवीकरण र सात नयाँ खानीलाई उत्खनन प्रमाणपत्र प्रदान गरेको छ भने ८० खानीको वातावरणीय अनुगमन तथा निरीक्षण गरेको छ । प्रवक्ता झाका अनुसार खानी, वन तथा जिल्ला विकास समितिबीचमा ऐन कानूनका केही दफा बाँझिएका कारण खनिजजन्य उद्योग प्रवद्र्धन गर्न समन्वयको अभाव भएको छ ।

“युरेनियम ऐन र कानूनको अभावका कारण काम गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो ।

विभागले नवलपरासीमा धौवादी फलाम अन्वेषण, मुस्ताङमा युरेनियम अन्वेषण, काठमाडौँमा प्राकृतिक ग्यास अन्वेषण, उदयपुरमा तामाखानी, धादिङ, मकवानपुर, अर्घाखाँची, महोत्तरी र सर्लाहीमा चुनढुंगा अध्ययन, बैतडी, अछाम, सुर्खेत, लमजुङलगायत जिल्लामा भौगर्भिक नक्साङ्कन गरिएको, तनहुँ, पाल्पा, स्याङ्जालगायत जिल्लामा खनिजजन्य उद्योग प्रवद्र्धन गर्ने कार्य गरेको छ ।

बझाङमा फस्फोराइट अन्वेषण र बैतडीमा फलाम तथा तामा अध्ययन, निर्माणमुखी खानीको लागि विद्युत् प्रसारण लाइन विस्तार गरिएको विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com