सडकमा नयाँ सारथि


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

– सुरेशराज न्यौपाने

विदेशका सहरहरूमा पुग्दा आरामदायी र भरपर्दा ट्याक्सी चढ्दा प्राय: नेपालीहरूको मनमा जिज्ञासा उठ्ने गर्छ । नेपालमा यस्तो सुविधा कहिले पाइएला ? किनभने, नेपालमा ट्याक्सी यात्रा गर्दा भाडा र सुरक्षाजस्ता चिन्ता र चासोले मन–मस्तिष्कमा घर बनाइरहेको हुन्छ । युवा आईटी उद्यमी प्रकाश न्यौपाने, २८, र रवि सिंहाल, २८, ले राजधानीवासीलाई त्यस्ता चिन्ता र चासोबाट मुक्त गर्दै छन् ।

उनीहरूको कम्पनी ‘सारथि’ले मोबाइल एप्समा आधारित सुरक्षित तथा भरपर्दो ट्याक्सी सञ्चालनमा ल्याउन लागेको हो । त्यो पनि सरकारी भाडादरमै, जो राजधानीवासीका लागि सार्वजनिक यातायातको भरपर्दो विकल्प हुन सक्छ । यसबाट मिटरमा नजाने र रातीको समयमा भनेको ठाउँमा यात्रु बोक्न नमान्ने जस्ता समस्याबाट समेत यात्रुले राहत पाउनेछन् ।

कम्पनीले सञ्चालनमा ल्याउन लागेका ट्याक्सीहरू विशेष गरी एप्समा आधारित हुनेछन् । यस अन्तर्गत तीन किसिमका सेवा दिने योजना छ । राजधानीभित्र वा बाहिर जान चार घन्टाभन्दा बढी समयका लागि हरियो प्लेट भएका ट्याक्सीहरू १५ साउनदेखि सञ्चालनमा आइसकेका छन् । यो सेवालाई ‘सारथि प्लस’ नाम दिइएको छ । यसमा ३ सय ५० वटा ट्याक्सी आबद्ध छन् । यी ट्याक्सीले सरकारले तोकेकै दरमा भाडा लिनेछन् ।

त्यसैगरी २२ साउनदेखि कम्पनीले ‘सारथि बेस’ सुरु गर्दैछ । हाल सञ्चालनमा रहेका ट्याक्सीहरूलाई नै यस सेवा अन्तर्गत ल्याइने छ । यसका लागि कम्पनीले एक महिनाअघि ट्याक्सी चालक र त्यसका मालिकहरूलाई सार्वजनिक विज्ञापनमार्फत आह्वान नै गरेको थियो । यसमा हालसम्म दुई सयवटा ट्याक्सी चालक जोडिन पुगेका छन् । यसबाहेक अर्को महिनादेखि सञ्चालनमा आउने ‘सारथि’मा भने कम्पनीकै स्वामित्वका ५६ ट्याक्सी रहनेछन् ।

यो सेवाको प्रभावकारिता र बजार अध्ययनका लागि मात्र कम्पनीले करिब डेढ वर्षभन्दा बढीको समय खर्चेको कम्पनीका संस्थापक प्रकाश न्यौपाने बताउँछन् । भन्छन्, “बजारको सम्भाव्यता अनुसन्धानका अलावा यात्रु, चालक, यातायात विभाग, ट्राफिकलगायतका सरोकारवालाहरूसँग नियमित छलफल गरेर यो सेवालाई अन्तिम रूप दिइएको हो ।”

यस अन्तर्गत प्रत्येक ट्याक्सीको मिटरलाई एन्ड्रोयड अपरेटिङ सिस्टम भएको ट्याब्लेटमा जोडिएको छ । त्यो ट्याब्लेटलाई फेरि बिलिंगका लागि पीओस (प्वाइन्ट अफ सेल्स) मेसिनसँग जोडिनेछ । उक्त मेसिनबाट तत्कालै भुक्तानी गर्न सकिने र बिल उपलब्ध हुनेछ । यी सबै उपकरण र प्रविधि प्रत्येक ट्याक्सीमा कम्पनीले नै उपलब्ध गराउनेछ । ‘सारथि प्लस’मा आबद्ध ट्याक्सी चालकलाई न्यूनतम दूरीको ग्यारेन्टीको कम्पनीले नै गर्नेछ । तर, त्यसबाट उठ्ने भाडाको १० प्रतिशत भने कम्पनीले लिनेछ । तर, न्यूनतमभन्दा बढी जति गाडी गुड्नेछ, त्यही हिसाबले कमिसनमा फरक पर्नेछ ।

यी ट्याक्सीमा सवारी गर्न चाहनेले एन्ड्रोइड र आईओस प्लेटफर्मबाट सारथि एप्स डाउनलोड गरेर ‘राइड’ क्लिक गर्नु पर्नेछ । त्यसो गर्नासाथ आफ्नो मोबाइलको स्क्रिनमा ‘सारथि’का ट्याक्सीहरू कहाँकहाँ छन् भनेर देखिन्छन् । र, त्यसपछि आफूले चढ्न चाहेको ट्याक्सी छनोट गर्न पाइन्छ । अनलाइन, फोन र म्यासेजबाट समेत ‘सारथि’ ट्याक्सी बुक गर्न सकिन्छ ।


कम्पनीले यात्रालाई सुरक्षित बनाउनेतर्फ विशेष सजगता अपनाएको छ । ट्याक्सी चढ्ने बित्तिकै स्वत: तस्बिर खिचिन्छ र त्यो तस्बिर सुरक्षा निकायले मागेको खण्डमा उपलब्ध गराइनेछ । यो एप्स प्रयोग गर्दा नै एउटा आपतकालीन नम्बर दिनुपर्छ । केही समस्या आइपरे यात्रुले एप्समा भएको आपतकालीन बटन थिचेको खण्डमा उसले दर्ता गराएको नम्बरका अलावा प्रहरी, कन्ट्रोल रुम गरी पाँचवटा नम्बरमा एकैपटक मेसेज जानेछ ।

ट्याक्सी चालकहरूको व्यवहारले पार्ने समस्यालाई सम्बोधन गर्न प्रत्येक ट्याक्सीमा ट्रयाकिङ सिस्टम जडित हुनेछ, जसबाट अधिक गतिमा चलाएमा, ट्राफिक नियम उल्लंघन गरेको खण्डमा त्यसको रिपोर्टिङ सीधै कन्ट्रोल रुममा हुन्छ । त्यसबाहेक यात्रुले एप्सबाटै चालकको व्यवहारका बारेमा प्रतिक्रिया जनाउन सक्छन् । युरो–४ मापदण्डका ट्याक्सीमा त कन्ट्रोल रुमबाटै इन्जिन बन्द गर्न सक्ने र यदि कुनै चालकले मिटरमा जान नमानेको खण्डमा कन्ट्रोल रुमबाटै मिटर अन गर्ने प्रणाली पनि रहनेछ ।

एप्स प्रयोग नगर्नेले पनि यो ट्याक्सीलाई बाटोमा रोकेर यात्रा गर्न सक्नेछन् । यात्रा सुरु गर्दा नै गन्तव्यसम्म पुग्न लाग्ने अनुमानित रकम एप्सले नै देखाउनेछ । उक्त भाडा निर्धारण गर्दा यात्रा गरेको समय, रुट र सम्भावित ट्राफिक जामलाई पनि अध्ययन गरिएको बताउँदै कम्पनीका अर्का संस्थापक रवि सिंहाल भन्छन्, “जसले यात्रुहरूमा के–कति भाडा लाग्छ भन्ने संशय पनि हट्नेछ भने ठगिनु त परेन भन्ने आशंकाको पनि निवारण हुनेछ ।”

आफ्नो व्यवसायले सिर्जनशील र नवीनतम सोचलाई प्रवद्र्धन गर्ने र उपत्यकावासीलाई आधुनिक यातायात प्रणालीसँग साक्षात्कार गराउने सारथिका सञ्चालकहरूको विश्वास छ । राजधानीमा मात्र करिब १२ हजार ट्याक्सी सञ्चालनमा रहेको र सारथिजस्ता ६ वटा कम्पनीका लागि ठाउँ रहेको आफ्नो अनुसन्धानले देखाएको न्यौपानेको दाबी छ । यसबाट आगामी साढे दुई वर्षभित्र करिब ट्याक्सीको कारोबारको ४० प्रतिशत हिस्सा ओगट्ने महत्त्वाकांक्षी लक्ष्य यी दुई युवाले राखेका छन् ।

सारथिजस्ता नयाँ यातायात प्रणालीबाट ट्याक्सी कारोबारलाई करको दायरामा ल्याउन पनि सहज हुनेछ । हाल सञ्चालनमा रहेका ट्याक्सीहरूले के–कति आम्दानी गर्छन् भन्ने सरकारी निकायलाई कुनै जानकारी छैन । अहिले भएका ट्याक्सीहरूको संख्यालाई आधार बनाउँदा वार्षिक ६० करोड रुपियाँ भाडा उठ्ने गरेको अनुमान छ । तर, यति ठूलो कारोबारबाट राज्यको ढुकुटीमा भने एक रुपियाँ पनि जम्मा हुँदैन । तर, सारथिजस्ता प्रविधियुक्त सेवाबाट भने सरकारले पनि कर प्राप्त गर्न सक्छ ।

हुन त काठमाडौँमा प्रविधि मैत्री ट्याक्सी चलाउने प्रयास धेरै पहिलेदेखि हुँदै आएको छ । तर, ठोस अनुसन्धान र गृहकार्यको अभावले ती कुनै पनि सफल भएनन् । जसले गर्दा काठमाडौँमा ट्याक्सीवालाको सिन्डीकेट हावी हुन पुगेको छ । त्यसले राजधानीवासीको सुविधासम्पन्न, नठगिने गरी ट्याक्सी चढ्ने चाहना कहिल्यै पूरा भएन । केही समययता भने केही आशलाग्दा संकेत देखिएका छन् । सारथिबाहेक पनि करिब एक दर्जन कम्पनीले यही क्षेत्रमा काम गरिरहेका छन् ।

सार्वजनिक यातायातका जानकार ट्राफिक इन्जिनियर आशिष गजुरेलका भनाइमा यस्ता प्रविधिमैत्री सेवाले जीवनलाई सहज बनाउनेछ । त्यसबाहेक सरकारले अघि सारेको स्मार्ट सिटीको अवधारणालाई यथार्थमा बदल्न यस्ता स्मार्ट सेवाको भूमिका अहम् हुने गुजरेलको तर्क छ । भन्छन्, “स्मार्ट सिटीको एउटा महत्त्वपूर्ण पक्ष यातायात हो । र, यस्ता सेवाले यातायातको आधुनिकीकरण गर्न र स्मार्ट सिटीलाई व्यवहारमा उतार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।”

ढोकैमा ओला र उबर

संसारभर आफ्नो सञ्जाल विस्तार गर्दै लगेका मोबाइल एप्समा आधारित ओला र उबरले नेपाली बजारमा प्रवेश पाउन जोडतोड गरिरहेका छन् । हाल विश्वका ८३ मुलुकका ६ सय ७४ सहरमा उबर सञ्चालनमा छ भने भारतीय कम्पनी ओला त्यहाँका विभिन्न सयभन्दा बढी सहरमा ।

बिजुली गतिमा आफ्नो सञ्जाल र कारोबार विस्तार गरिरहेका यी दुई कम्पनीले पछिल्लो समय नेपालको सार्वजनिक यातायातलाई पनि प्राथमिकतामा राखेका छन् । करिब ६ महिनाअघि उबरको दक्षिणपूर्वी एसियाको नीति विभाग हेर्ने श्वेता कोहली यहाँको कानुनी र प्रशासनिक संरचनाका सम्बन्धमा बुझ्न काठमााडौँ आएकी थिइन् । स्रोतका अनुसार काठमाडौँ बसाइका क्रममा कोहलीले राजनीति र प्रशासन दुवैका प्रभावशाली व्यक्तिहरूसँग भेटघाट गरेकी थिइन् । त्यसको केही समयपछि उबरकै अर्का एक उच्च अधिकारी उत्सव अग्रवाल आफैँ पनि काठमाडौँ आएका थिए ।

विद्यमान कानुनले उबर र ओलालाई नेपालमा आफ्नो सञ्जाल विस्तार गर्न सम्भव छैन । यहाँ ट्याक्सीको भाडा सरकारले नै तोक्छ । जबकि, उबर र ओलाले माग र आपूर्तिका आधारमा भाडादर निर्धारण गर्छन् । जस्तै : ट्याक्सीको माग कम हुने बेला भाडा पनि कम हुन्छ भने माग अधिक हुने बेला भाडा पनि बढी हुन्छ । जबकि, नेपालमा दिउँसो र राती गरी दुई किसिमको भाडा मात्र लिन पाइन्छ । विद्यमान कानुनलाई खुकुलो बनाउन र बजार विस्तारमा सहज हुने हिसाबले स्थानीय साझेदारसँग मिलेर जानका लागि समेत यी दुई कम्पनीले प्रयासरत रहेको बुझिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com