[झटारो] प्रचण्ड समीक्षा


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

– लक्ष्मण गाम्नागे

स्थानीय निर्वाचन परिणामबारे पार्टीहरूको आन्तरिक समीक्षा जारी छ । हारको कारण धाँधली वा सत्ताको दुरुपयोग भनेर अर्काकै आङको जुम्रोतिर औँलो तेस्र्याउने पुरानै परम्परा हो । तर, कमरेड प्रचण्डको कुरै बेग्लै । सबैभन्दा कटु र निर्मम समीक्षा गर्नमा कमरेड प्रचण्ड एक नम्बर ठहरिए । उनले कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नै आङका लिखा पनि मज्जाले केलाए । उनको निष्कर्ष छ, चुनाव हार्नुको मुख्य कारण आफ्नै पार्टीका नेताहरू दलालका पछि लागेर हो । कत्रो गम्भीर र पारदर्शी समीक्षा !

पार्टीले चुनाव हार्नुका कारण बताउँदै प्रचण्डले भनेछन् :

हाम्रो पार्टीका नेताहरू दलाल, ठेकेदार, व्यापारी र दुई नम्बरीका पछि लागेका छन् । कार्यकर्ताहरू सिंहदरबारमा फन्का मारिरहेका छन् । संगठन सखाप भएको छ । क्रान्ति खियाले डल्लो परेको छ । अध्ययन, चिन्तन, लेखन माइनसमा गएको छ । खानपान, मनोरञ्जन र मोजमस्ती मौलाएको छ । हामी अल्छी, सुतुवा र भुँडे भएका छौँ, सत्ता र भत्ताका भोगी भएका छौँ । हामी पैसा, सुविधा, पद, गाडी, गार्ड र स्यालुटको नशामा फसेका छौँ । भएभरका सबै नेता, कार्यकर्ता र समर्थकलाई केन्द्रीय सदस्य चाहिएको छ । ‘तैँ रानी मै रानी, कसले भर्ने कुवाको पानी’ भन्ने उखान हामीमा चरितार्थ भएको छ । अनि, जितिन्छ चुनाव ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाम्रो हुती हेर्नूस्, हामीले आफ्नै खेतमा फलाएको वासमती चामल बेच्न सकेनौँ, शत्रुहरूले हाम्रै बारीबाट चोरेर लगेको मकैको ढुटो मजाले बेचेर टन्न भोट कमाए । बाहिर हल्ला नगर्नु होला, हामीभित्र त खुलेरै छलफल गरौँ न ! चुनाव जित्नका लागि मतपत्र च्यात्नुपर्ने अवस्था आउनु कति लाजमर्दो हो ! अरूले गरेको भए हामी के भन्थ्यौँ ? अप्ठ्यारो पनि कस्तो भने अरूलाई दोष लगाउने ठाउँ पनि छैन । चुनाव गराउँदा हामी सत्तामै थियौँ । हामी सत्तामा मात्रै भयौँ, जिल्लामा, गाउँमा, पहाडमा, तराईमा भएनौँ । अनि, जितिन्छ चुनाव ?

चुनावका मुखैमा आएर हामी खुव दौडिएझैँ गर्‍यौँ । नाचेझैँ पनि गर्‍यौँ । तर, कता दौडिँदा कहाँ पुगिन्छ, कसरी नाच्दा धेरै भोट आउँछ, थाहै पाएनौँ । हामी दौडिएर जहाँ पुग्थ्यौँ, त्यहाँ अरू नै पुगेर पहिलो भइसकेका हुन्थे । दौडिँदा दौडिँदा सासै जालाजस्तो भयो तर कहीँ पुुगिएन । हाम्रो नचाइको सुरताल पनि ठ्याम्मै मिलेन । कहिले कांग्रेसको तालमा, कहिले मधेसवादीको तालमा, कहिले चीनको तालमा, कहिले भारतको तालमा । माओवादीको मौलिक ताल नै गुमाएर बेसुरा नाचेपछि जितिन्छ चुनाव ?
यसो भनेर मैले हामी माटोमै मिल्यौँ भनेको होइन, चित्त बुझाउने ठाउँ पनि छ । चुनावमा हामीले हारे पनि हाम्रा एजेन्डाले जितेका छन् भनेर तपाईंहरूले हल्लाखल्ला मच्चाउँदै आएको एकदम ठीक छ ।

यसलाई अझै चर्को स्वरमा उराल्नुपर्छ । भुइँमा पछारिए पनि खुट्टा मेरै माथि छन् भन्न छाड्नु हुँदैन । अहिले नै खुट्टा तन्काएर लम्पसारै परिहाल्नु हुँदैन । अलिअलि खुट्टा हल्लाउँदै गर्नुपर्छ, उठ्न बल लाउँदै गर्नुपर्छ । अब प्रदेश–२ को चुनाव आउँदैछ । त्यसमा हामी एक नम्बर पार्टी बन्नुपर्छ ।
यो हाँस्ने कुरा होइन । मैले साँच्चै भनेको प्रदेश–२ मा एक नम्बर हुने गरी तालसुर मिलाएर हामी सबै अब त्यतै लागौँ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com