केएमसीमा म्याद गुज्रेको औषधि बिरामीलाई चलाइयो


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

– फातिमा बानु

श्रावण २३, २०७४- काठमाडौं मेडिकल कलेज सिनामंगलभित्र सञ्चालित फार्मेसीले बिरामीलाई म्याद गुज्रेको औषधि बिक्री भेटिएको छ । फार्मेसीले दुई महिना अगावै म्याद सकिएको ट्याक्सिन नामक औषधिका बेचेको हो ।

आइतबार बेलुका नौ बजे फार्मेसीले औषधिको म्याद नै नहेरि औषधि बेचे, बिरामी एक बालकमाथि डाक्टरले पनि  म्यादै नहेरी औषधि प्रयोग गरे ।  झापाका पाँच वर्षीय आरुष सुवेदीमाथि म्याद गुज्रेको औषधि प्रयोग हुँदा बिरामी बालकको अवस्था गम्भीर छ । बिरामी आरुष एक सातादेखि मेडिकल कलेजमै भर्ना भइ उपाचारात भएको बालककी आमा सुनिता सुवेदीले बताइन् ।

‘डाक्टरले औषधि लेखिदिने बित्तिकै हतारमा किन्न गएँ, अत्यास लागेको बेलामा मेरो पनि औषधिको म्याद हेर्नतिर ध्यान गएन,‘ सुवेदीले भनिन्,‘ बिहान औषधि दिने नर्सले भनेर पो म्याद गुज्रेको औषधिबारे थाहा भयो ।’

दायाँ कम्मरको मासुमा पिप जमेर थलिएका बिरामी बालकको म्याद गुज्रेको औषधि प्रयोगपश्चात अवस्था बिग्रँदै गएको आमा सुवेदीले बताइन् । बालकको अवस्था बिग्रँदै गएसँगै  सोमबार  दिउँसो अस्पतालमा तोडफोड गरिएको छ । बिरामी पक्षले भने अस्पतालमा तोडफोडमा आफ्नो हात नभएको बताएका छन् ।

बालकमाथि म्याद गुज्रेको औषधि चलेतापनि बिरामीको शरीरमा नकरात्मक असर नपर्ने उपचारमा संलग्न डा. मनिष पराजुलीले बताए ।‘ शरीरमा औषधिको प्रभावकारिता कम हुन्छ, शरीरमा हानी भने गर्दैन,’डा. पराजुलीले भने ।

उता औषधि व्यवस्थापन विभागले भने औषधिसम्बन्धी अनुसन्धान नगरी नकरात्मक असरबारे अहिले केही भन्न नसिकिने बताएको छ । म्याद गुज्रेको औषधि बेच्ने फार्मेसीलाई कारबाहीको दायरामा ल्याउने विभागले जनाएको छ ।  क्षतिपूर्ती तिराउनेदेखि  लिएर लाइसेन्स खारेज गर्ने, निलम्बन गर्नेसम्मको कारबाही हुनसक्ने विभागको फार्मेसी अधिकृत भरत पाण्डेले बताए ।
अस्पतालभित्रको फार्मेसीले म्याद गुज्रेको औषधि बेचेको घटनालाई छानबिन गरि दोषीलाई कारबाही गर्ने अस्पतालका निर्देशक डा. केपी रिजालले बताएका छन् ।

म्याद गुज्रेको औषधि बेच्नेलाई औषधि ऐन २०३५ ले मानवीय लापरबाही मानेको छ ।  यस्तो लापरबाही गर्नेलाई कडा कारबाही हुनुपर्ने स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख विभागका डा. भोलाराम श्रेष्ठले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com