ललितपुरको कुसुन्तीमा गोली चल्यो, प्रवीण खत्रीको मृत्यु


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

श्रावण २३, २०७४-
ललितपुरको कुसुन्तीमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो प्रहरीसँगको इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु भएको हो । लागु औषध कारोबारमा संलग्न खत्रीसँग हतियार रहेको सूचना पाएपछि विहानैदेखि महानगरीय अपराध महाशाखाको  टोलीले उनलाई फलो गरेको थियो ।

दिउँसो पौने दुई बजेतिर प्रहरी देख्नेबित्तिकै प्रवीणले छतबाट भाग्दैं फिल्मी शैलीमा प्रहरीमाथि गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि गएको प्रहरी टोली देख्नेबितिकै छतबाट फिल्मी स्टाइलमा गोली चलाएपछि प्रहरीले प्रतिरक्षाका लागि गोली चलायो,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले साप्ताहिकसँग भने, ‘दोहोरो फायरिङका भयो ।’ प्रहरीमाथि गोली चलाएपछि प्रहरी गोली चलाउनका लागि बाध्य भएको उनले बताए ।

दोहोरो फायरिङका क्रममा कसको गोली लाग्यो थाहा नभएको उनले बताए । ‘कसको गोली लागेको हो थाहा भएन । तर, एक जनाको मृत्यु भएको छ,’ उनले भने, ‘उनी आफैले गोली हानेका हुन् वा दोहोरो फायरिङका क्रममा उनलाई गोली लागेको हो थाहा हुन सकेको छैन् ।’

अपराध महाशाखाको टोली देख्ने बितिकै प्रवीणले आफ्नै घरको छतबाट भाग्दैं गोली चलाएका थिए ।‘हामीसँग लागु औषधको कारोबारमा संलग्न रहेको सूचना पहिलेदेखि नै थियो,’ अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, ‘छतबाट दुई हतियार बोकेर हाम फालेपछि हतियारको कारोबारमा समेत संलग्न रहेको पुष्टि भयो ।’ उनले महाशाखाको टोलीले लागु औषध र हतियारको कारोबारमा संलग्न रहेको सूचना आधारमा घेरा हालेर पक्राउ गर्ने क्रममा दोहोरो फायरिङ भएको बताए ।

दोहोरो फायरिङमा गोली लागेपछि प्रवीण गम्भीर घाइते भएपछि उनलाई पाटन अस्पताल लगिएको थियो । तर, उनलाई अस्पतालमा  चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।  प्रहरीले प्रवीणको साथबाट दुई वटा पेस्तोल बरामद गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com