के हो नाक, कान, घाँटीको क्यान्सर ?


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

उपासना पाण्डे
डा. दिभा श्रेष्ठ, एम एस–इएनटी एण्ड हेड एण्ड नेक सर्जन, एआईआईमएस, इन्डिया
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, सिनामंगल

काठमाडौंका ७० वर्षीय वृद्धको जिब्रोको तल घाउ भएको थियो । उनको मुखमा क्यान्सर भएको थियो । सुरुवाती अवस्थामा उपचारमा आएकाले उनको उपचार सम्भव भयो ।
यसैगरी एक जना महिलाको नाकमा मासु पलाएको थियो । उक्त मासु पनि सर्जरी गरेर फालियो । यी दुई केस उदाहरण मात्र हुन् ।
नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको पाइन्छ । यद्यपि यी क्यान्सर रोगीको संख्या पनि कम नभएको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी डा. दिभा श्रेष्ठ बताउँछिन् । सामान्यतया मानिसको शरीरमा कोशिकाको साधारण विभाजन हुन्छ । क्यान्सरमा अनियन्त्रित कोशिकाको वृद्धि हुन्छ । त्यो फ्याक्टरलाई चाहेर पनि रोक्न सकिँदैन । डा.दिभाका अनुसार शरीरको अन्य क्यान्सरजस्तै हो, यो क्यान्सर पनि । यसमा एउटा मात्र कारण होइन विभिन्न कारण समावेश हुन्छन् ।
क्यान्सर हुने कारण 
चुरोट, तमाखु, बिडी, गुट्खा, पान पराग, रक्सी सेवन आदिका कारणले क्यान्सर हुन्छ । अर्को कारण जिन पनि हो । त्यसैगरी खानेकुराबाट पनि क्यान्सर हुन्छ । कार्सिनोजेनिक खाना
(क्यान्सर गराउने खाद्य तत्व) ले गर्दा पनि क्यान्सर हुनसक्छ । धेरै पिरो तथा पोलेका खानेकुराबाट क्यान्सर लाग्ने सम्भावना हुन्छ ।
मुखको क्यान्सर 
कहिलेकाहीँ मुखको घाउ लामो समयसम्म निको नभए उक्त घाउ क्यान्सरमा परिणत हुनसक्छ । मुखमा घाउ हुँदा र बांगिएको दाँतले त्यो घाउमा छुँदा लामो समयसम्म मुखको घाउ निको हुँदैन । मुखभित्र सेतो दाग–धब्बा आए त्यो पनि क्यान्सरमा परिणत हुनसक्छ ।
नाकको क्यान्सर 
काठको काम गर्ने मानिसलाई काठको धूलोले नाकको क्यान्सर हुनसक्छ ।

घाँटीको क्यान्सर
चुरोट खाने मानिसलाई घाँटीको क्यान्सर हुन्छ । यो क्यान्सरलाई रक्सी सेवनले थप बढावा दिन्छ ।
क्यान्सरका चरण
पहिलो चरण :
 यो चरणमा क्यान्सर सीमित भागमा मात्र हुन्छ । यसमा कुनै पनि अंग खेर जाँदैन । सुरुको अवस्थामा क्यान्सर सीमित भागमा मात्र भएकाले सर्जरी तथा रेडियोथेरापीबाट उपचार गर्न सकिन्छ ।
दोस्रो चरण : यो चरणमा क्यान्सर नजिकैको भागमा फिजिएको हुन्छ । यसलाई सर्जरी गरेर ठीक गर्न सकिन्छ । कुनै–कुनैमा सर्जरी तथा रेडियोथेरापी गराउनुपर्ने हुन्छ । यो चरणमा पनि क्यान्सरको उपचार सम्भव हुन्छ ।
तेस्रो चरण : यो चरणमा पुगेको क्यान्सर धेरै फैलिसकेको हुन्छ । यसमा एउटा मात्र उपचार नभई विभिन्न उपचारको आवश्यकता पर्छ । यसमा सर्जरी तथा रेडियोथेरापी, सर्जरी तथा किमोथेरापी तथा रेडियोकिमोथेरापी तथाा रेडियोकिमोथेरापीे आवश्यक पर्न सक्छ ।
चौथो चरण : यो चरणमा क्यान्सर धेरै फैलिसकेको हुन्छ । एउटामा मात्र नभएर अन्य अंगमा पनि क्यान्सर फैलिसकेको हुन्छ । रोगीको बाँच्ने सम्भावना पनि कम हुन्छ । उपचारपछि पनि पूर्णरूपमा रोग निको हुने सम्भावना कम हुन्छ । यस्ता बिरामीलाई सहज होस् भनेर सास फेर्न सजिलोका लागि ट्युबको प्रयोग तथा खाना खान सजिलोका लागि नली राखिदिएर, पीडा कम गर्न औषधि तथा रेडियोथेरापीको प्रयोग गरिन्छ । यसैगरी रगत बगेको छ भने रगतका नसाहरू (जुन क्यान्सरको कारणले बनेका हुन्छन्)  सुकाउन रेडियोथेरापी दिइन्छ ।
उमेर समूह
सामान्यतया ३० देखि ५० वर्षका मानिसमा नाक, कान, घाँटीको क्यान्सर देखापर्ने डा. दिभा बताउँछिन् । विश्वमा महिलाको तुलनामा पुरुषमा यस्तो क्यान्सर बढी पाइएको छ । पुरुषले बढी धूम्रपान तथा मद्यपान गर्ने भएकाले यस्तो भएको हो ।
कानका क्यान्सर रोगी नेपालमा कमै भेटिन्छन् । कानको क्यान्सर भए दिमागमा फैलने सम्भावना हुन्छ । घाँटीको क्यान्सर पुरुषमा नै बढी देखापरेको छ । यस्तो क्यान्सर लागेको मानिसको बोलाइको तालमा फरक हुन्छ । त्यसले बोल्ने र आवाज निकाल्ने अंगमा असर पार्छ ।
अहिले थाइराइड क्यान्सर धेरै देखिएको छ । यो क्यान्सर भने महिलामा बढी देखिन्छ ।
लक्षण
मुखको क्यान्सर : मुखमा आएको घाउ लामो समयसम्म निको नहुनु, मुखमा अल्सर आउनु, मुख वा जिब्रोमा मासु पलाउनु, दाग–धब्बा आउनु ।
घाँटीको क्यान्सर : आवाज धोद्रो हुनु । सास फेर्न गाह्रो हुनु, खाना निल्न गाह्रो हुनु, घाँटी सुन्निनु वा डल्लो ग्लान्ड आउनु ।
कानको क्यान्सर : कान डम्म हुनु, कानबाट रगत आउनु, कान नसुन्नु ।
रोग लाग्न नदिन 
धूम्रपान तथा मद्यपान नगर्ने । पोलेको तथा धेरै पिरो खानेकुरा नखाने । मुखमा दाग–धब्बा आए वा घाउ निको नभए समयमै चिकित्सकको सल्लाह लिने ।
उपचार 
सर्जरी तथा रेडियोथेरापीबाट यसको उपचार गर्न सकिन्छ । कतिपय अवस्थामा केमोथोरापीको पनि आवश्यकता पर्छ । समयमै अर्थात् सुरुवातको अवस्थामा थाहा पाए क्यान्सर रोगको उपचार सर्जरीबाट सम्भव हुन्छ तसर्थ रोग लागे तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ । उपचारपछि पनि नियमित चेकअप गराउनुपर्छ । यसको उपचार टिमवर्कमा गर्नुपर्छ । क्यान्सर जति खतरनाक भए पनि समयमै पत्ता लगाएर उचित उपचार भएको खण्डमा यसलाई निको पार्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com