किन हार्‍यो एमाले ?


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

श्रावण २३, २०७४- मेरो व्यक्तिगत चाहना भरतपुरको पुन: मतदानमा देवी ज्ञवालीले जितुन् भन्ने थियो । मतगणना हुँदाहुँदै मतपत्र च्यात्ने र आतंक सिर्जना गर्ने विरुद्ध जनता उत्रनुपर्छ भन्ने थियो । मतपत्र च्यातेर गम्भीर त्रुटि गरेका माओवादी केन्द्रका कार्यकर्ताको मनोबल उँचो हुनुहुन्नथ्यो भन्ने मेरो धारणा हो । अदालतले पुन: मतदानको फैसला सुनाएपछि उत्पन्न केही प्रतिक्रिया र यसप्रति बजारमा बाँडिएका भ्रम अत्यासलाग्दा छन् । सामाजिक सञ्जालमा एकजना महिला उम्मेदवारमाथि पोखिएका कटाक्ष डरलाग्दा छन् । मानौं यो देश कुनै राजनीतिक दलका उरनठेउलाहरूको कब्जामा छ । उच्च तहका नेतादेखि सामान्य कार्यकर्तासम्म गालीगलौजमा उत्रिएको दृश्यले देश अब कतातिर जाने हो भन्ने त्रास सिर्जना गरिदियो । माओवादी केन्द्रको अतिवादलाई बिर्साउने अतिवादीहरू सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा पोखिन थाले । मतदाता केही पनि होइनन्, पार्टीको सर्वोच्चता महान छ भन्ने भ्रम यत्रतत्र देखिन थाले । निर्वाचनमा जित नजिक रहेको एमाले पार्टीका माथिल्लोदेखि तल्लो तहसम्मका नेता/कार्यकर्ता अनर्गल गालीगलौज र अस्वाभाविक प्रतिक्रियामा उत्रने क्रमले निरन्तरता पाइनै
रह्यो । लगाम बिनाको घोडाको शैलीमा सार्वजनिक भएका तथानाम अभिव्यक्ति अन्तत: पुन: निर्वाचनको ब्यालेट बक्सभित्र नकारात्मक रूपमा प्रवेश गर्‍यो र रेणु दाहालको जित भयो ।
मतपत्र च्यात्ने प्रवृत्तिले गलत परम्पराको थालनी गर्ने निश्चित छ । त्यस्ताहरू माथि हुनुपर्ने कानुनी कारबाही कहाँ गयो र के भयो, त्यसको जानकारी जनताले पाउनुपर्छ । यद्यपि पहिलो चुनावमा जित सुनिश्चित भएको एमालेले सोही स्थानमा र उनै मतदाताबाट भएको मतदानमा किन हार ब्यहोर्नुपर्‍यो भनेर थोरै पनि विवेचना गर्ने कोसिस गर्‍यो भने आफ्ना गल्ती र कमजोरी पत्ता लाग्नेछन् । जनताको सर्वोच्चतामाथि कसैको दादागिरी चल्दैन र जनता कसैका पनि दास होइनन् भन्ने तथ्यलाई यो निर्वाचनले स्पष्ट पारिदिएको छ । मतपत्र च्यातेर नाङ्गो नाच नाचिरहेको माओवादी केन्द्र र आफ्ना कार्यकर्ताको भावना विपरीत अघि बढिरहेको नेपाली कांग्रेसको चरित्रमाझ मतदाताको सर्वोच्चताको सामान्य ख्याल राख्दै अशिष्ट र अनर्गल गालीगलौजमा यदि एमाले उत्रँदैन थियो भने पटक–पटक चुनाव गर्दा पनि जित एमालेकै हुने थियो ।
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं 

***
चितवन महानगरमा लामो विवाद , किचलोपश्चात अन्तत: चुनावमार्फत विवाद टुंगिएको छ । मतपत्र च्यातेपछि उब्जिएको विवादले उग्ररूप लिँंदै सर्वोच्च अदालतसम्म पुगेपछि सर्वोच्चको फैसला बमोजिम पुन: मतदान गरेर माओवादी र कांग्रेसको संयुक्त गठबन्धनकी रेणु दाहाल विजयी भएकी छन् । यस क्रममा चितवन महानगरका जनता लामो समयको तनावबाट अब मुक्त भएका छन् । विवादले एउटा किनारा पाएको छ । नवनिर्वाचित मेयर रेणु दाहालसामु अब ठूला चुनौती खडा भएका छन् । सम्पूर्ण पक्षलाई सन्तुष्ट पार्दै महानगरमा विकास गराउनु उनको प्रमुख दायित्व बनेको छ । प्रचण्डपुत्री भनेर बनेको उनको छविलाई अब रेणु दाहालमा रूपान्तरण गर्नुपर्छ । महिलाको क्षमतालाई प्रश्न गर्ने समाजलाई काम गरेर जवाफ दिन सक्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com