चन्द्र ग्रहण


प्रकाशित मिति : श्रावण २२, २०७४ आईतबार

– अतुल मिश्र

श्रावण २२, २०७४-

भोलि (सोमबार) राति आकाशमा के देखिन्छ ? पूर्णिमाको रात बादल नलागे पक्कै चन्द्रमा देखिन्छ । तर भोलिको रात त्यति मात्रै देखिनेछैन । किनभने भोलि सन् २०१७ को दोस्रो आंशिक चन्द्र ग्रहण लाग्दै छ । ग्रहण राति करिब ११ बजेर ७ मिनेटमा सुरु भएर १२ बजेर ३७ मिनेटसम्म रहनेछ । यो ग्रहण हाम्रो मुलुकको आकाशबाट समेत देख्न सकिनेछ । एसियाली मुलुकका साथै युरोप, अफ्रिका र अस्ट्रेलियाबाट समेत देखिनेछ । ग्रहणकाल १ घण्टा ५५ मिनेटको हुनेछ ।
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्र ग्रहण देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ त्यतिबेला ग्रहण लाग्छ । सर्य र चन्द्रमाको बीच पृथ्वी यसरी आउँछ कि पृथ्वीको छायाले चन्द्रमाको सबै वा आंशिक भाग ढाक्छ ।
चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हुन्छ । चन्द्र ग्रहण पूर्णिमामा मात्र लाग्छ । चन्द्र ग्रहणलाई खुला आँखाले हेर्न सकिन्छ तर सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हँुदैन । चन्द्र ग्रहणको अवधि र प्रकार चन्द्रमाको स्थितिमा निर्भर गर्छ ।
चन्द्रमा 
  • अन्तरिक्षमा पृथ्वीबाट सबैभन्दा नजिक चन्द्रमा छ ।
  • चन्द्रमा पृथ्वीबाट ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ ।
  • चट्टानयुक्त संरचनाको चिसो रहेको चन्द्रमाको व्यास ३,४७६ किलोमिटर छ ।
  • वैज्ञानिकका अनुसार चन्द्रमा विस्तारै पृथ्वीदेखि टाढिँदै गएको छ ।
  • नासाका अनुसार यो बर्सेनि करिब १ इन्च टाढा हुँदै गएको छ ।
  • चन्द्रमाको आफ्नै प्रकाश छैन । यो आफ्नो सतहमा परेको सूर्यको प्रकाशका कारण उज्यालो देखिएको हो ।
  • चन्द्रमाले साढे २९ दिनमा पृथ्वीको कक्षमा एक चक्कर लगाउँछ ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com