वीरेन्द्रनगर—बबई क्षेत्रमा भारी वर्षा


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

– प्रकाश अधिकारी

श्रावण २०, २०७४- सुर्खेतमा पछिल्लो २४ घण्टामा १७० मिलिमिटर वर्षा भएको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सुदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयका अनुसार यो वर्षकै ठूलो वर्षा हो । वर्षा हुने क्रम नरोकिएकाले नदी तथा खोला किनार आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानले जलमग्न भएको छ । बस्ती डुबानमा परेपछि सर्वसाधारणहरु घर छाडेर अग्लो स्थानतर्फ सरेका छन् । उपत्यकाबाट बाहिरिने इत्राम र खोर्केखोलामा पनि पानीको बहाव बढ्दो क्रममा रहेको क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले जानकारी दिए । सुर्खेतसँग सीमा जोडिएको बर्दियाको बबई चेपाङमा पनि भीषण वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले त्यहाका बासिन्दालाई सुरक्षित स्थानमा रहन मोबाइल सन्देश पठाएको छ ।

हावापानी कार्यालयको चेपाङ्गस्थित स्टेशनका अनुसार अहिले बबई नदीमा पानीको बहाव ६ मिटर माथि पुगेको छ । चेपाङ्ग आसपासमा मात्रै २३३ मिलिमिटर वर्षा भएको छ । गुलरियाको भादा नदीमा बाढीको बहाव ७.६२ मिटर छ । जुन खतराको संकेत हो । कर्णाली नदीमा पनि बाढीको बहाव बढ्ने क्रममा रहेकोले हावापानी कार्यालयले बाढी आउनू पूर्व चेतावनी दिएको छ । कर्णाली चिसापानीमा १७९ मिलिमिटर वर्षा भएको छ ।

मध्य र सुदूरपश्चिमका अधिकांश ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । महाकाली नदी क्षेत्रमा १४५, बबईको चेपाङ्गमा २३३, सुर्खेतको वीरेन्द्रनगरमा १७२ र छिन्छुको कालिदमारमा १६३ मिलिमिटर वर्षा भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com