नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा


प्रकाशित मिति : श्रावण २०, २०७४ शुक्रबार

– नारायण शर्मा

श्रावण २०, २०७४- एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनीहरूले घरजग्गासमेत खरिद–बिक्री गर्दै आएका छन् ।

साबिकको रुपौलिया गाविस–३ (सुस्ता गाउँपालिका–१) का महुजर चौधरीले आफ्ना कान्छा छोरा भनी दिएको झूटो विवरणका आधारमा ती भारतीयले रत्तनेशप्रसाद चौधरीका नामबाट २०४९ भदौ २३ गते नागरिकता लिएका हुन् । यसमा जिल्ला प्रशासनका तत्कालीन कर्मचारीको समेत संलग्नता देखिन्छ । ११५०८ नम्बरको उक्त नागरिकतामा वाहकको जन्ममिति २०२३ साउन ५ गते उल्लेख छ ।

महुजरका ३ छोरा मात्र छन्, लालगोपाल, प्रेमलाल र हरिनारायण । रत्तनेशले महुजरलाई केही नगद दिएर नक्कली विवरण बनाउन लगाएका थिए । उनी भारत विहार राज्यको सोहरिया ग्राम पञ्चायत सन्तपुरका बासिन्दा हुन् । रत्तनेशका वास्तविक बाबुको नाम गंगाराम चौधरी हो । गंगारामका जेठा छोरा रामरतनले नै नेपालमा रत्तनेश नामबाट नागरिकता लिएका हुन् । उनले आफ्ना बहिनी, ४ सन्तान र केही दाजुभाइको समेत जिल्ला प्रशासनबाट नागरिकता बनाइसकेका छन् ।

नागरिकता लिन रत्तनेशले स्थानीय आदर्श मावि खोखरपुरामा २०४१ सालमा कक्षा ८ पास गरेको भनी कागजात पेस गरेका थिए । जब कि उक्त विद्यालयले २०४५ सालबाट कक्षा ८ सञ्चालन गरेको हो । विद्यालयको लेटरप्याडमै सिफारिश गरिएको कागजात नक्कली पुष्टि भएको छ । विद्यालयले २०७४ असार १ गते जिल्ला शिक्षालाई पठाएको अभिलेखमा २०४४ बाट मात्र कक्षा ९ सुरु गरिएको खुलाएको छ । कक्षा नै सुरु नभएका बेला उनले पेस गरेको प्रधानाध्यापकको हस्ताक्षरसहितको लेटरप्याड छानबिन गर्दा किर्ते भेटिएको हो ।

नागरिकता विवरण झूटो रहेको खुलेपछि छानबिन थालेको इलाका प्रहरी बेलटारीले रत्तनेश भारतीय नागरिक रहेको र उनी ४० वर्षदेखि रुपौलियामा बसोबास गर्दै आएको जनाएको छ । २०७० साउन ४ गते इलाका प्रहरी बेलाटारीले पठाएको छानबिन विवरणमा रत्तनेश चौधरी भारत पश्चिम चम्पारण निवासी रहेको र उनका वंशज र परिवारका सबै सदस्यसमेत भारतमै रहेको उल्लेख छ ।

रत्तनेशले मेडिकल पसल सञ्चालन गर्दै आएका छन् । उनलाई गाउँघरमा स्थानीयले पूर्वीया डाक्टर भनेर चिन्छन् । बरुवा बजारमा उनको पक्की घर र करिब एक बिघा जग्गासमेत रहेको स्थानीय बताउँछन् । उनको नागरिकता नक्कली रहेको भन्दै त्यहीँका एक व्यक्तिले उजुरी दिएका हुन् । यसबारे छानबिन हुने जिल्ला प्रशासनले जनाएको छ । ‘छानबिन हुँदै छ,’ प्रजिअ उदयबहादुर रानाले भने, ‘नक्कली भेटिए नागरिकता खारेज गरी कारबाही अघि बढाउँछौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com