यसकारण एनआरएन अमेरिकाको अध्यक्ष बन्न अयोग्य छन् जोशी


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

-किशोर पन्थी

एनआरएन अमेरिकाको अध्यक्ष पदमा टेक्सास निवासी सफल व्यवसायी गौरी जोशीको उम्मेदवारी निर्वाचन आयोगले सदर गरेको छैन । उनलाई अध्यक्ष पदमा उठ्नका लागि अयोग्य सावित गर्दै आयोगले उम्मेदवारी सदर नगरेको हो । हो, वास्तवमा जोशी एनआरएन अमेरिकाको अध्यक्ष हुन योग्य छैनन् । किनभने यो पदमा योग्य हुनका लागि नेपालको दलगत राजनीति, जालसाजी, चाकडी चाप्लुसी र खुराफातमा पोख्त हुनुपर्छ । जोशीजस्तो शालिन, व्यवसायिक र विसुद्ध सामाजिक क्षेत्रमा सकृय व्यक्तिले एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि यो न्यूनतम योग्यता पूरा गर्न सकेनन् ।

मैले जोशीसँगको भेटमा र अन्य व्यक्तिसँगको भेटमा पटकपटक भन्दै आएको थिएँ – ‘किन जोशीले एनआरएन अमेरिकाको अध्यक्ष बन्ने इच्छा गरे ? यो पद उनका लागि उचित छैन । किनभने अहिलेको सन्दर्भमा यो पद उनीजस्ता शालिन, व्यवसायिक र विसुद्ध सामाजिक क्षेत्रमा सकृय व्यक्तिका लागि हुँदै होइन । उनी यो पदका लागि ओभरक्वालीफाइड छन् । त्यसैले डिस्क्वालिफाइड छन् ।’ तर पनि धेरैले एनआरएन अमेरिकालाई राम्रो बनाउनका लागि जोशीको उम्मेदवारीलाई जायज भन्दै आएका थिए ।

जोशी जस्ता व्यक्तित्व एनआरएन अमेरिकामा आउन खोज्दा स्वागत गर्नुपर्ने वातावरण हुनुपर्ने थियो । तर निषेध गरिएको छ । जसका कारण अब एनआरएन अमेरिकामा कैयन राम्रा व्यक्तिले आउनेबारे पनि सोच्नेछैनन् । यसो भनिरहदा एनआरएनमा रहेका सबैजना फोहोरी छन् भन्न खोजिएको होइन । एनआरएन सँस्था आफैमा एउटा घर न हो । घरको के दोष ? तर घरभित्र बस्नेहरुले फोहोरको आहाल खेलिरहेका छन् । अधिकांशले फोहोरको आहाल खेलेको ठाउमा एकदुई सफा व्यक्ति जाँदा उसको हालत के हुन्छ ? त्यो यहाँ भनिरहनु पर्दैन ।

अझैपनि एनआरएनए संस्था एउटा घर हो । यसभित्र रहेको फोहोरको आहाल सफा गर्न सकिन्छ । तर सफा गर्न भन्दै जानेहरु पनि त्यही फोहोरको आहलमा बानी पर्दै जान थालेपछि धेरै टिकाटिप्पणी गरेर के समय खेर फाल्नु ? अन्त्यमा, जोशीजीलाई अध्यक्षमा उम्मेदवारी कायम नभएको झोंकमा आफूतिर फोहोर फ्याक्नेतिर रोकिएर फोहोर फ्याक्नतिर नलाग्न सुझाव छ । यसो गर्न थालियो भने तपाईलाई उनीहरुले आफूजस्तै फोहोरी बनाउनेछन् । अब रछ्यानघारीमा फोहोर खेल्नेहरुलाई त्यही खेल्न दिएर जतिसक्दो छिटो सफा स्थानतिर अगाडि बढ्नुहोस् । मुद्दामामिला देखि अन्य खेल र झेलका लागि उक्साउनेहरुलाई वेवास्ता गर्नुहोस् । फोहोरमा खेलिने झेलको खेलका लागि तपाई अयोग्य सावित भइसक्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com