अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

वासिङटन, १९ साउन । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ ।

यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर जानै नपाइनेगरी प्रतिबन्धात्मक व्यवस्था पनि लगाइएको थिएन ।

तर पछिल्लो समयमा उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश मन्त्रालयले निकालेकोले यात्रामा प्रतिबन्ध लगाइएको बताइएको छ ।

यसअघि एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा पक्राउ गरी लामो समय जेलमा राखिएको घटनाप्रति अमेरिकाले कडा विरोध गर्दै अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने बताउदै आएको थियो ।
उसको यो नयाँ नियम आगामी सेप्टेम्बर १ देखि सुरु हुने बताइएको छ । उत्तर कोरियामा अमेरिकी नागरिकलाई पक्राउ गर्नसक्ने खतरा रहेको भन्दै अमेरिकाले सो घोषणा गरेको हो ।

एकजना २२ बर्षीय अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले प्योङयाङमा नियन्त्रणमा लिएको थियो । उनलाई एक बर्षभन्दा लामो समयदेखि जेलमा राखिएको थियो । पछि उनलाई जेलमुक्त गरेको भए पनि उनको निधन भएको थियो ।

यो नयाँ प्रतिबन्ध कम्तीमा पनि एक बर्षसम्म जारी रहने छ । यस अवधिमा उक्त निर्णयको अवस्था हेरेर पछि अर्काे निर्णय गर्नपनि सकिने बताइएको छ ।

उक्त नयाँ नियम अनुसार कुनै पनि अमेरिकी नागरिकले उसँगको राहदानीबाट उत्तर कोरियाको भ्रमण गर्न पाउने छैन । उसले उत्तरको भ्रमणका लागि अर्काे एक विशेष कागजात प्राप्त गर्नुपर्ने छ ।

पछिल्लो समयमा उत्तर र दक्षिण कोरिया एवम् संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचमा ठूलो बिबाद जारी रहेको छ ।

उत्तर कोरियाले गरेको आणविक क्षेप्यास्त्र परीक्षणबाट उत्तर कोरियामाथि अमेरिका र संयुक्त राज्य अमेरिकाले नाकाबन्दी पनि लगाएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com