नवलपरासीका बजार जलमग्न [तस्बिरसहित]


प्रकाशित मिति : श्रावण १९, २०७४ बिहीबार

– नवीन पौडेल

श्रावण १९, २०७४- अविरल वर्षाको कारण नवलपरासीका अधिकांश बजार जलमग्न भएका छन् ।

विशेषगरी पूर्व-पश्चिम राजमार्ग आसपासमा पानीको निकास नहुँदा बजार जलमग्न हुने गरेका छन् । वर्षाको कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत वर्दघाटका लन्डन ब्रिजमा खोलाको पानी सडकसम्म आउँदा बिहान केही समय यातायात अवरुद्ध बनेको थियो । ढलको पानी र पुलमाथिसम्म खोलाको पानी आएपछि बाटो नदेख्दा केही समय यातायात रोकिए पनि अहिले पानीको सतह घटेपछि यातायात सञ्चालनमा आएको बर्दघाट प्रहरीले जनाएको छ ।

हिजो दिउँसोदेखि परेको वर्षा अहिले पनि जारी छ । सदरमुकाम परासी मात्र होइन जिल्लाको मुख्य बजार गैंडाकोट, दलदले, कावासोती, डण्डा, चोरमारा, वर्दघाट, भुमही, सुनवललगायत मुख्य बजार सामान्य वर्षामा समेत जलमग्न हुने गर्दछ । ढल निकास नहुँदा भलको पानीले पक्की सडक समेत भत्काउने गरेको छ । बाक्लो बस्तीको कारण बजार क्षेत्रमा यस्तो समस्या देखिएको छ । घरैघरले भरिएका बजारमा पानीले निकास नपाएपछि जमिनले नसोसेसम्म भलपानीले जलमग्न हुने समस्या छ । पूर्व-पश्चिम राजमार्गको ९९ किलोमिटर सडक पर्ने यस जिल्लामा मुल सडकको कहीं पनि ढल निकास छैन ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com