ग्यासको मूल्य २५ रुपैयाँ घट्यो


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

श्रावण १८, २०७४-

आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ घटाएको हो। ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य घटेर आएको छ। मूल्य समायोजन गर्दा २५ रुपैयाँ घटेको हो,’ निगमका बिक्री वितरण विभाग निर्देशक एवं प्रवक्ता सीताराम पोखरेलले भने। ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुन्छ।’

नयाँ मूल्य लागू भएपछि प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ पर्नेछ। हाल प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। मूल्य समायोजनपछि निगमलाई प्रतिसिलिन्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा नाफा छ। पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन। ‘नयाँ मूल्यसूचीअनुसार डिजेलमा घाटा छ,’ उनले भने, ‘सर्वसाधारणलाई मध्यनजर गर्दै मूल्य यथावत् राखेका हौं।’ डिजेलमा घाटा भए पनि अन्य इन्धनमा नाफा छ। प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ८४ पैसा, मटितेलमा १७ रुपैयाँ १३ पैसा नाफा छ। हवाई आन्तरिकमा ९ रुपैयाँ १६ पैसा र अन्तर्राष्ट्रियतर्फ २० रुपैयाँ २९ पैसा नाफा छ। डिजेलमा प्रतिलिटर १ रुपैयाँ ३८ पैसा नोक्सान रहेको प्रवक्ता पोखरेलले बताए। हाल उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य ९८ रुपैयाँ, डिजेल ७४, मटितेल ७४ र हवाई इन्धन ८२ रुपैयाँमा खरिद गर्दै आएका छन्। नयाँ मूल्यअनुसार निगमको पाक्षिक नाफा ३८ करोड ७७ लाख रुपैयाँ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com