माफ गर्नुस् : म नेपाललाई माया गर्छु


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

– मञ्जुश्री थापा

आश्विन १५, २०७३- हरेक व्यक्ति जो संयोगले कुनै देशका हुन्छन्, तिनीहरूको त्यस देशप्रति लगाव हुनैपर्छ भन्ने केही छैन । यो हामीले गर्ने छनोट हो, त्यो पनि राज्यविहीन नभएको अवस्थामा वा अवैध अथवा आप्रवासीको जस्तो अन्योलमय अवस्थामा नभएमा वा हामीले छनोट गर्ने अधिकार पाएको खण्डमा । जिन्दगीको कुनै मोडमा हामीले निर्णय गर्न सक्छौं, हो— हामी यहाँकै हौं । वा, हामी नजानिंदो तरिकाले बिस्तारै–बिस्तारै लगाव बनाउने क्रममा लाग्न सक्छौं । कुनै ठाउँमा हामीले लामो समय बितायौं भने हाम्रो अनुभव, स्मृति र आकांक्षाको मिश्रणले हामीलाई आफू र समाजबीचको सिमाना कहाँ पर्दो रहेछ भन्ने कुरा बिर्साइदिन्छ ।

हामी समाजमा आफ्नो पहिचान खोज्न थाल्छौं र, आफ्नो पहिचान त्यसैमा देखाउन चाहन्छौं । ‘म यो वा त्यो राष्ट्रियताको हुँ’ भन्छौं, मानौं— कुनै ठाउँबाट हुनुमा नै कुनै विशेषता छ, जुन विशेषता हामीले समेत मनन गर्छौं, र अझै त्यसै आधारले हामी को हौं (?) भन्ने कुराको निक्र्योलसम्म गर्छ ।
बीस–बाईसवर्षे उमेरमा मैले जब माध्यमिक स्कुल र कलेज संयुक्त राज्य अमेरिकाबाट सिध्याएर नेपाल फर्कें र लेख्न सुरु गरें, तब मैले ‘म नेपाली हुँ’ भन्न थालें । नेपालमा दुई दशकभन्दा बढी बस्दै जाँदा मैले त्यो भावनालाई अनगिन्ती तरिकाबाट अझ दह्रिलो बनाएँ । म सायद यो विषयमा अलि बढी नै अन्योलमा परेकी थिएँ किनकि मैले आफूलाई ‘बाहिरिया’ जस्तो महसुस गरकी थिएँ । म चालीसको उमेरमा आइपुग्दा मेरो लेखाइको अन्त्यमा ‘मञ्जुश्री थापा एक नेपाली लेखक हुन्’ भनेर चिनाइन्थ्यो । मैले टोरोन्टो बसाइ सारेको वर्षौंपछि पनि ‘क्यानडाबासी मञ्जुश्री थापा नेपालकी एक लेखक हुन्’ भनेर लेखिन्थ्यो ।
गत वर्ष जब नेपालको नयाँ संविधानले महिलाहरूलाई नागरिकतामा बराबरको हक दिएन, तब म मैले मेरो अन्योलबाट मुक्ति पाएँ : जुन देशले मलाई पूर्ण मानवको रूपमा हेर्दैन, त्यो देशसँग मेरो पहिचान देख्न–देखाउन मैले छाडिदिएँ ।
त्यतिन्जेलसम्म म क्यानडामा बस्न थालेको धेरै वर्ष भइसकेको थियो । मेरो सहयात्री, जो क्यानेडियन नागरिक हुन्, उनले मलाई यहाँको नागरिकताका लागि निवेदन दिन वर्षौंदेखि घच्घच्याएका थिए, किनकि धेरै अध्ययनहरूले ‘यो राष्ट्रियता संसारकै शक्तिशालीमध्ये पर्छ’ भनेको छ । (तिनै अध्ययनहरूले नेपालको राष्ट्रियताचाहिं सबैभन्दा कम शक्तिशालीमा पर्छ भनेर औंल्याएको छ ।) आखिरमा मैले आवेदन दिएँ, सरकारी हाते पुस्तकको अध्ययन गरें र जब समय आयो, तब टोरोन्टोको उपनगरस्थित एक उराठलाग्दो सरकारी कार्यालयसम्म गएर नागरिकताको जाँच दिन गएँ ।
तर, केही सातापछि नागरिकताको शपथ लिनका लागि मलाई बोलाउने बेलामा अबदेखि नेपाली नहुन म भावनात्मक रूपले तयार थिइनँ र क्यानेडियन बनेकोलाई कसरी लिने भन्ने पनि मलाई थाहा थिएन ।
०००

आजको युग पहिचानयुक्त राजनीतिको युग हो जसमा नागरिक अधिकारको पुनरुत्थान आन्दोलन र सँगसँगै त्यसको कडा विरोध पनि ससांरभरि फैलिरहेको छ । सन् १९९० देखि नेपालमा पहिचानको राजनीति उदय भयो । महिला र बहिष्कृत जात, आदिवासी र प्रादेशिक समुदायहरूले लोकतान्त्रिक अधिकारलाई सीमित जात तथा लैंगिक विशिष्ट वर्गभन्दा बढी फैलाउन चाहे । सीमित जात तथा लैंगिक विशिष्ट वर्गले चाहिँ प्रतिउत्तरमा (कहिलेकाहीं त निकै चर्को) लडाइँ गरे— उदाहरणका लागि, पहिलो संविधानसभालाई समावेशी संविधानको जन्म हुनै नदिई तुहाइदिए । (संयुक्त राज्य अमेरिकाको श्वेत पहिचान राजनीतिको उदय पनि यसमा एउटा मिल्दो उदाहरण हो ।)
अमूर्त भावनामा बगेर वा वा प्रस्ट अडान लिएर अथवा मात्र व्यावहारिकतावादमा भर परेर पहिचानको दाबा गर्नु भनेको पहिचानयुक्त राजनीतिक नाटकको मञ्चमा उभिनु हो । र, मेरो नजरमा त्यस्तो राजनीति, अरू राजनीतिजस्तै नाटक नै हो ।
पहिचान–दर्शनको मामिलामा दुइटा फरक र नमिल्दो दर्शनहरू छन् । एउटाले पहिचानलाई जन्मजात र वशांणुक्रम मान्छ : यो सोच जन्म–जातिवादी हो । नेपाली बाबुको रगतको नाता भएकालाई विशेष अधिकार प्रदान गर्दै नेपालले जन्म–जातिवादी अडानलाई इतिहासदेखि नै अवलम्बन गर्दै आएको छ ।
वैकल्पिक दर्शनले पहिचानलाई प्रदर्शनको आधारमा मानेको छ : जसले कुनै निश्चित तरिकाले व्यवहार गर्छ, तिनीहरूले त्यस्तै खालको पहिचान बनाउँछन् । क्यानडाले यो दर्शन अवलम्बन गर्छ— कुनै व्यक्तिको क्रियाकलापले यदि सरकारले तोकेको मापदण्ड पूरा गर्छ भने ऊ सहजै क्यानेडियन बन्न सक्छ ।
हरेक खालका पहिचानको राजनीति– प्रगतिशील वा प्रतिगामी– सबै यी दुई दर्शनबीचको रचनात्मक तनावबाट उठ्छ । विनिर्माणवाद सोचको समर्थक भएको नाताले म पछिल्लो अडानसँग सहमत छु । विभिन्न संस्कृति र बौद्धिक पद्धतिलाई उत्थान गर्न पहिचानको राजनीतिको महत्त्व म स्पष्टसँग बुझ्छु । तर, अन्त्यमा म स्वव्याख्याको स्वतन्त्रतालगायत मानव स्वतन्त्रतामा विश्वास गर्छु नै ।
भन्नाले नेपाल बसाइका क्रममा मैले आफ्नो नेपालीपनाको अभिनय कसरी गर्ने भन्ने कुराको निक्र्योल गरेकी थिएँ । सम्पन्न हिन्दू परिवारमा र कथित उच्च जातमा ‘भित्रिया’को रूपमा मेरो जन्म भयो, यद्यपि अरूभन्दा आफूले बढी स्वतन्त्रता पाएकोमा मेरो उदारवादी ग्लानिले र नेपाली कानुनमा पुरुषहरूसँग बराबर नरहेकोमा आफ्नै रिसको कारणले सधैं ‘बाहिरिया’ हरूसँग मेरो सहानुभूति रह्यो । मेरो लेखाइमा दोहोरिंदै आउने विषयका रूपमा राजनीति र व्यक्तिगत स्वतन्त्रतामा नेपालले गरेको ‘निषेध’ मुख्य रह्यो । त्यतिबेला मैले गरिरहेको कामलाई ‘इङ्गेज्ड राइटिङ’ वा सहभागी लेखन भनिंदो रहेछ— म सहभागी लेखक बनेँ । पछिल्ला वर्षहरूमा एउटा अनुसन्धान समूहमा काम गर्ने क्रममा मलाई नेपालको पहिचानमूलक नागरिक आन्दोलनको अध्ययनले निकै शिक्षित बनायो । (यसबारे विश्व बैंकले अनइक्वाल सिटिजन्स् : नेपालमा लैंगिक, जात र जातीय बहिष्करणको सारांश निकालेको छ ।) यति बेला मैले देखें, कति व्यवस्थित तर जकडिएको तरिकाले नेपालमा दलित, आदिवासी तथा प्रादेशिक समुदायहरू र महिला पनि बहिष्करणमा पारिएका रहेछन् ।
मैले आवाज उठाएँ, र कहिलेकाहीं अप्रासंगिक गल्ती पनि गरेँ— शक्तिविहीनहरूका लागि बोलेर । लेख्दै जाँदा सायद आफ्नो तर्कलाई शक्ति दिनका लागि होला, म ‘हामी’ भन्ने शब्द ज्यादै नै प्रयोग गर्दोरहेछु भन्ने कुरा मैले देखें । म समग्रमा ‘नेपाली’ भनेर बुझाउनका लागि ‘हामी’ लेख्थें । यस्तो सरलीकरणले कताकता नेपालको बहुलता र मेरो आफ्नो विशेष सम्पन्नतालाई मेटेको जस्तोचाहिं लाग्थ्यो, अनि अप्ठ्यारो पनि लाग्थ्यो ।
अन्त्यमा मैले ‘हामी’ भनेर लेख्न छाडिदिएँ, तर पनि त्यो अनौपचारिक रूपमा प्राय: निस्किरहन्छ, बोलीचालीमा होस् वा सामाजिक सञ्जालमा— ‘हामी नेपालीहरू’ ।
वर्ष बित्दै जाँदा मेरो नेपालप्रतिको लगाव झन्झन् गहिरिंदै गयो, तर यसलाई देश प्रेम भन्ने भूल कसैले गर्न सक्दैनथ्यो । देशप्रेमी हुनका लागि मुलुकले प्रतिनिधित्व गरेको राज्यपद्धतिको दृष्टिलाई प्रेम गर्नुपर्छ । जब एउटा देशप्रेमीले ‘म नेपाललाई माया गर्छु’ भन्छ, तब उसले ‘म सिंगो नेपाल राज्यपद्धतिलाई प्रेम गर्छु’ भनेको हो । मैले नेपाल राज्यपद्धतिलाई कहिले पनि प्रेम गरिनँ, बरु त्यसको ठीक उल्टो अर्थ लगाउनु उचित होला । त्यसैले मलाई कसैले देशप्रेमी ठान्ला भन्ने डरले म सधैं ग्रसित थिएँ । किनभने भित्रभित्रचाहिँ म नेपाललाई माया गर्थें ।
०००

जब म क्यानेडियन भएँ, यी सब भावनाहरू गीतारको तार चुँडिएको जस्तै भएर मेरो मुटुमा बेसुरले बजिरहे । नागरिकता ग्रहणको समारोहपछि क्यानाडाको राष्ट्रिय गान गाउँदा म मुंग्रोले चुटिएझैं भएँ । मैले बोलिरहेका शब्दहरू— ‘ओ क्यानडा— हाम्रो घर र मौलिक स्थान’ लाई मैले आत्मसात् गर्न सकिरहेकी थिइनँ ।
क्यानेडियनपनालाई कसरी निर्वाह गर्ने भन्ने कुरा समयसँगै म सिक्दै जान्छु होला भन्ने मलाई लाग्छ । सायद यो देशसँगको लगाव पनि मैले बिस्तारै–बस्तारै बढाउनेछु । अझै, मैले यसलाई पनि कुनै दिन माया गरौंला । तर, म ढुक्क छु कि म यहाँ पनि देशप्रेमी चाहिँ कदापि हुँदिनँ ।
नेपालको तुलनामा क्यानडाको प्रजातन्त्र बढी समावेशी र न्यायिक छ । तर यो देश पनि पहिचानको राजनीतिक मन्थनबाट गुज्रिरहेको छ । क्यानडाप्रति तीन अलगअलग दृष्टि छन् : एउटा जसले आदिवासी, ‘मेती’हरू र प्रथम राष्ट्रका समुदायलाई देशको पहिचानको केन्द्र मान्छ, अर्को जसले बेलायती र फ्रेन्च मुलका बासिन्दा (जसले यहाँ दोस्रो बस्ती बसाले) उनीहरूलाई केन्द्र मान्दछ र, अर्कोचाहिं जसले विश्वभरिका आप्रवासीलाई देश खुला रहनुमै क्यानडा पहिचानको केन्द्र देख्छन् । क्यानडाको हरेक दृष्टिले एक–अर्कोलाई अल्झाउँछ र, च्यालेन्ज गर्छ ।
क्यानडामा भइरहेको यही मन्थनले नै आजसम्म मेरो मन बढी छोएको छ । वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडियुले प्रथम राष्ट्रहरूसँग राष्ट–राष्ट्रबीचको सम्बन्ध कायम गर्ने वाचा दिएका छन् । उनले क्यानडालाई ‘पोस्ट–नेसनल’का रूपमा पनि चित्रण गरेका छन् । शक्तिमा रहेका भित्रिया वा शक्तिहीन बाहिरियाहरू सबैले क्यानडाको राज्यपद्धतिमाथि प्रश्न गर्न थालेका छन् ।
यसले मलाई यो देशसँग सम्बद्ध गाँस्न मद्दत पुर्‍याउँदै छ । नेपालभन्दा कमसेकम संरचनात्मक हिसाबले क्यानडा धेरै फरक रहेनछ भन्ने मैंले बुझ्दै आएकी छु । एउटा बन्दै गरेको, गतिशील र निरन्तर परिवर्तन भइरहेको देश हो यो । सबै देश यस्तै होलान् सायद ।
अहिलेलाई म आफ्नो नयाँ देशलाई मन्थन गर्ने बाटा कुरिबसेकी छु । र, आशा गरेकी छु— सबैतिरका देशप्रेमीहरूले मलाई क्षमा गरुन् । किनभने क्यानेडियन भए पनि म नेपाललाई अझै माया गर्छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com