यसरी जलाइयो भरतपुर १९ को मतपत्र [तस्बिरहरु]


प्रकाशित मिति : श्रावण १७, २०७४ मंगलबार

श्रावण १७, २०७४- यही साउन २० गते पुन: मतदान हुने भएपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र जलाइएको छ । मंगलबार कडा सुरक्षाबीच भरतपुरस्थित कबर्डहल नजिक मतपत्र नष्ट गरिएको हो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतपत्र जलाएको तस्बिर खिच्न सहज पहुँच नदिएपछि पत्रकारहरु केहीबेर आक्रोशित बने ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकमा साउन २० गते चुनाव गर्ने र  पहिलेको मतपत्र नस्ट गर्ने निर्णय गरेको थियो । २० गतेको चुनाव पक्का भए पिन निर्वाचन कार्यालयले अहिलेसम्म आधिकारिक सूचना दिएको छैन ।

हिजो सोमबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतलाई वडा नम्बर १९ का सम्पूर्ण मतदान केन्द्रको मतदान रद्द गरी पुन: मतदानका लागि यथाशीघ्र मिति तोक्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतले  भरतपुर महानगर-१९मा पुन: मतदान गर्नुपर्ने निर्वाचन आयोगले दिएको निर्णयलाई सदर गर्दै आइतबार फैसला गरेको थियो । वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय निर्वाचनअन्तर्गत मतगणना चल्दै गर्दा  मतपत्र च्यातिएपछि भरतपुर महानगरको निर्वाचन अन्योलमा परेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com