माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेका छन् : दाहाल


प्रकाशित मिति : १६ श्रावण २०७४, सोमबार

– श्यामसुन्दर शशि
श्रावण १६, २०७४- माओवादी केन्द्रको प्रदेश नम्बर २ को निर्वाचन परिचालन समितिको प्रशिक्षण सोमबार प्रशिक्षणमा सहभागी पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री एंव केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असोज २ गते हुने निर्वाचनमा पहिलो शक्ति बन्ने उद्येश्यका साथ घरदैलोमा परिचालित हुन निर्देशन दिए ।

उनले भने, ‘माओवादी संघीयता, गणतन्त्र, समानुपातिकता तथा पहिचानको पक्षधर पार्टी हो र पनि जनताले हामीलाई तेश्रो शक्तिको रुपमा स्वीकारे । हामीले आफ्नै खेतमा उब्जाएको चामल बेच्न सकेनौं, काँग्रेस र एमालले कुहिएको पिठो पनि बेच्न भ्याए ।’

आत्म निर्णयको अधिकारसहितको संघीयता, गणतन्त्र तथा जातीय पहिचानको मुद्दा बुलन्द गर्ने  माओवादीलाई जनताले भोट नदिनुको कारण माओवादी नेता तथा कार्यकर्ताहरुको सत्ता र भत्ता लोभ भएको जिकीर पनि दाहालले गरे ।

उनले भने, ‘अचेल माओवादी नेताहरु जनता छोडेर ठेकेदार र दलालका पछि लागेका छन् । संगठन सखाप भएको छ ।’

माओवादीको जन्म र कर्म तराई–मधेसका आठ जिल्लामा भएको उल्लेख गर्दै माके अध्यक्ष प्रचण्डले प्रदेश नम्बर दुईको निर्वाचनलाई लक्षित गरी सघन कार्यक्रम संचालन गर्न पार्टी नेता तथा कार्यकर्ताहरु अपिल गरे । उनले असोज २ गतेसम्म पार्टीका सम्पूर्ण शीर्ष नेता मधेसमै डेरा जमाएर बस्ने उद्घोष पनि गरे ।

एमाले प्रति आक्रामक तथा नेपाली कांग्रेसप्रति अलि नरम देखिएका माके अध्यक्ष दाहालले एमालेमाथि मुलुकमा भएको कुनै पनि आन्दोलनको नेतृत्व नगरेको आरोप लगाए । उनले भने, ‘संघीयता विरोधी, धर्मनिरपेक्षता विरोधी, अग्रगमन विरोधी एमालेलाई जनताले भोट दिने अनि हामीलाई नदिने कुनै कारण छैन । हामीले आफ्ना उपलब्धिहरु जनतासम्म पुर्‍याउन सकेनौं ।’

प्रशिक्षण कार्यक्रमलाई पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलसंगै स्वास्थ्य मन्त्री गिरीराजमणि पोख्रेल, सहरी विकास मन्त्री प्रभु साहलगायतले सम्बोधन गरेका थिए । माओवादी केन्द्र धनुषाका नेता झल्कु यादवका अनुसार प्रदेश नम्बर दुई अन्तर्गतका आठ जिल्लाका इन्चार्जहरुले निर्वाचन लक्षित प्रतिवेदन प्रस्तूत गरेका थिए ।

यसअघि प्रशिक्षणको लागि तिरहुतिया गाँछीस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्र चयन गरिएको थियो तर अन्तिम चरणमा पिडारी चौकस्थित जानकी बाटिका पार्टी पैलेशमा सारिएको थियो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलका अनुसार, झण्डै ६ सय सहभागीका लागि स्थान सांगुरो हुने भएकोले कार्यक्रम स्थल सारिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई चरणको स्थानीय तह निर्वाचनमा फितलो प्रदर्शन गरेको माओवादी केन्द्र प्रदेश नम्बर दुईलाई दृष्टिगत गरी निर्वाचन लक्षित कार्यक्रम संचालन गरेको हो ।

माके पोलिटब्युरो सदस्य रामचन्द्र मण्डलका अनुसार, प्रशिक्षणमा आठ जिल्लाका निर्वाचन परिचालन समितिका सदस्यहरु संगै जिल्ला अध्यक्ष ,संयोजक तथा केन्द्रिय नेताहरुको सहभागिता थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com