सर्वोच्चका फैसलाले अपराध गर्नेहरु प्रोत्साहित : नेम्वाङ


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

प्रमुख प्रतिपक्षी एमालेले भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्चका फैसलाले अपराध गर्नेहरुलाई प्रोत्साहित गर्ने टिप्पणी गरेको छ ।

सर्वोच्चको फैसला लगत्तै एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङले फैसला दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । ‘यो दुर्भाग्यपूर्ण फैसला हो यसले मतपत्र च्यात्ने, हार्ने संघारमा पुगेपछि पुन मतदान गराउने उद्देश्यले अपराधिक काम गर्ने खालको गलत संस्कृति बसाउने र अपराध कर्मलाई प्रोत्साहित गर्ने काम गरेको छ,’ नेम्बाङले कान्तिपुरसँग भने ।

यस्तै गलत संस्कृति नबसोस् भनेर एमालेले निर्वाचन आयोगको निर्णयमा असहमति राखेको र सर्बोच्च अदालतले त्यसलाई सच्चाउने आशा गरेको नेम्बाङले उल्लेख गरे । ‘तर सर्बोच्चले गतल कुरालाई सच्चाएन,’ नेम्बाङले भने । तर एमाले कानूनी शासन र विधिमा विश्वास गर्ने भएकाले सर्बोच्च अदालतको फैसलालाई सम्मान गर्ने नेम्बाङले बताए । ‘हामी विधिको शासन, कानूनमा विश्वास गर्छौं,’ नेम्बाङले भने, ‘त्यसैले सर्बोच्च अदालतको फैसलालाई मान्नुको विकल्प छैन ।’ उनले यस सम्बन्धमा पार्टीको सोमबार बस्ने स्थायी समितिको बैठकले थप धारणा बाहिर ल्याउने पनि बताए ।

भरतपुर महानगरको मतगणनाका क्रममा मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ पुन: मतदान गर्नुपर्ने निर्णय गरेको थियो । त्यो निर्णयमाथि चुनौती दिदै तुलसी पाण्डे र गुञ्जमान विश्वकर्माले निर्णय बदरको माग गर्दै सर्बोच्चमा रिट हालेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com