वैदेशिक लगानी १ सय ५५ प्रतिशतले बढ्यो


प्रकाशित मिति : श्रावण १५, २०७४ आईतबार

– यज्ञ बञ्जाडे

श्रावण १५, २०७४-

चालु आर्थिक वर्षको ११ महिनासम्म १२ अर्ब २७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १ सय ५५ प्रतिशतले बढी हो। ०७३ जेठसम्म एफडीआईमार्फत ४ अर्ब ८० करोड रुपैयाँ भित्रिएको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, राजनीतिक वातावरण सुध्रिएकोलगायत कारण एफडीआईमा उल्लेख्य वृद्धि भएको विश्लेषकहरू बताउँछन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार भित्रिएको यो रकम नगदमै नेपाली बैंकहरूमा आइसकेको हो। उद्योग विभागको तथ्यांकअनुसार गत वर्षभरिमा १५ अर्ब १ करोडको विदेशी लगानीको प्रतिबद्धता आएको थियो। जुनसुकै विदेशी लगानी आउँदा सुरुमा उद्योग विभागमा दर्ता भएर अनुमति लिनुपर्छ। यो उद्योग विभागमा जनाइएको प्रतिबद्धता हो। प्रतिबद्धतासँग तुलना गर्दा ८१ प्रतिशत रकम भित्रिइसकेको छ। प्रतिबद्धता जनाइएकोबाट मात्रै रकम भित्रिएको भन्न सकिने अवस्था हुँदैन। कुनै चलिरहेको कम्पनीमा रकम आए पनि एफडीआई शीर्षकमा देखिन्छ। तर यसको प्रतिबद्धता पहिले नै भएको हुन सक्छ। यसअघिका प्रतिबद्धताहरूको रकम पनि चरणबद्ध रूपमा आउने गर्छ।

तर उद्योग विभागको प्रतिबद्धताको तथ्यांकमा गत वर्ष आयोजित लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धता समावेश छैन। त्यति बेला लगानी बोर्डले एक फर्म तयार पारेको थियो जसमा प्रतिबद्धता जनाए पुग्थ्यो। त्यसको कुनै कानुनी हैसियत थिएन। उक्त सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो। तर वास्तविक रूपमा भित्रिएको रकम मात्रै हेर्दा पनि आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्ताको आत्मविश्वासमा केही सुधार भएको देखिन्छ।

नयाँ संविधान बनेपछि सम्पत्तिमाथिको अधिकार सुरक्षित भएको र लगानीसम्बन्धी थप नीतिहरू उदार बन्ने आशामा लगानीकर्ताको आत्मबल बढेको योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वगभर्नर युवराज खतिवडाले बताए। अघिल्लो वर्ष विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुक असहज अवस्थामा रहेको जनाउँदै उनले भने, ‘यो वर्ष नेपाल भित्रिएको एफडीआई अघिल्लो वर्षसँग तुलना गर्न मिल्दैन, यद्यपि आशालाग्दो रूपमा एफडीआई बढेको छ।’ संविधान बनेपछि नै विदेशी लगानी बढ्न थालेको बताउँदै उनले भने, ‘पर्यटन क्षेत्र र सिमेन्ट उद्योगमा राम्रो विदेशी लगानी भित्रिएको छ।’

यो वर्ष खासगरी जलविद्युत् आयोजना, सिमेन्ट उद्योग र ठूला होटलका लागि विदेशी लगानी भित्रिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बताए। मुलुकको लगानी वातावरणमा अपेक्षित रूपमा सुधार भइनसके पनि उल्लेख्य रूपमा विदेशी लगानी बढेको उनको भनाइ छ। ‘जोखिम मोलेर भए पनि विदेशी लगानीकर्ताहरू जलविद्युत्, पर्यटन, सिमेन्ट उद्योगहरूमा लगानी गरेका छन्,’ उनले भने। धेरै विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न रुचि देखाए पनि प्रक्रियागत झन्झट र अप्ठेरो नीतिगत व्यवस्थाले आउन नसकेको उनले बताए।
मुलुकको बृहत् आर्थिक परिसूचकमा उच्च दरको सुधार र अर्थतन्त्रको संरचनात्मक परिवर्तन ल्याउने प्रमुख कारकका रूपमा एफडीआई देखिएको जनाउँदै उनले भने, ‘मुलुकमा आशातित आर्थिक वृद्धि प्राप्त गर्नका लागि लगानीसम्बन्धी नीतिमा सरलीकरण गर्नुपर्छ। यसो हुन सके निकट भविष्यमा विदेशबाट ठूलो लगानी भित्रिने सम्भावना छ।’

नेपालमा जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना रहे पनि अप्ठेरो नीतिगत व्यवस्थाकै कारण धेरै पुँजी आउन नसकेको थापाले बताए। ‘एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण गर्नुपर्छ,’ उनले भने, ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष एफडीआई उल्लेख्य रूपमा बढेकाले ठूलो आशा सिर्जना गरेको छ।’

विदेशी लगानीकर्तालाई नेपालमा लगानी सम्भावनाबारे जानकारी दिनुका साथै लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले केही महिनाअघि सरकारले लगानी सम्मेलन पनि गरेको थियो। यसैगरी, निजी क्षेत्रहरूले पनि पूर्वाधार सम्मेलनहरू गर्दै आएका छन्। यसकारण पनि यो वर्ष उल्लेख्य रूपमा एफडीआई भित्रिएको जानकारहरू बताउँछन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ भरिमा ५ अर्ब ९२ करोड रुपैयाँ एफडीआई नेपाल भित्रिएको थियो। आर्थिक वर्ष ०७१/७२ मा यस्तो लगानी ४ अर्ब ३८ करोड रुपैयाँ थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com