आज नागपञ्चमी र रक्षाबन्धन


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

श्रावण १३, २०७४- हिन्दु धर्मावलम्बीहरूले शुक्रबार नागपञ्चमी र रक्षाबन्धन मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण पूर्णिमा अर्थात् जनै पूर्णिमाको दिन उपाकर्म, ऋषितर्पणी, रक्षाबन्धन आदि कर्म गरिने भए पनि यसपालि उक्त पूर्णिमामा चन्द्रग्रहण परेकाले आज साउन शुक्ल पञ्चमीमै मनाउन लागिएको पञ्चांग निर्णायक समितिले जनाएको छ।

समितिका पञ्चांगकार कीर्तिकिरण जोशीले यसपालि पूर्णिमाको दिनमा चन्द्रमामा खण्डग्रास ग्रहण देखिने हुनाले धर्मशास्त्रका आधारमा पञ्चांग निर्णायक समितिका धर्मशास्त्रीहरूको बैठकले नाग पञ्चमीमै रक्षाबन्धन पनि मनाउने निर्णय गरेको बताए। ‘पूर्णिमाको दिनमा ग्रहण वा संक्रान्ति परेमा स्वाध्याय, ऋषितर्पणी र रक्षाबन्धन गर्न नहुने मान्यता छ,’ उनले भने, ‘अन्य चाडपर्व भने पूर्णिमाकै दिनमा यथावत् रूपमा मनाउन सकिन्छ।’

रक्षाबन्धनका दिन बिहान सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँध्ने गरिन्छ। रक्षाबन्धन बाँध्दा दैत्यराज बलिको दानशील र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ।

तागाधारीले पुरानो जनै फालेर अभिमन्त्रित गरिएको नयाँ जनै लगाउने गर्छन्। रक्षाबन्धनमा बाँधिएको धागो तिहारमा लक्ष्मीपूजाको दिन फुकालेर गाईको पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार हुन्छ भन्ने विश्वास छ। सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।

तराईमा यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधिदिन्छन्। नेवार समुदायले भने यो पर्व मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउँछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com