उपचारको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

– अतुल मिश्र

श्रावण १२, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले बिरामी भएपछि उपचार गर्न विदेश जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले वीर अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहमा उक्त कुरा बताएका हुन् । नेपालमा विरामी भएर कुनै व्यक्ति भारत, सिंगापुर, बैंकक, अमेरिका जाने उल्लेख गर्दे देउवाले मुलुक मै उच्च स्वास्थ्य सेवा दिने प्रयास गर्नुपर्ने बताए । उनले यस्तो प्रयास वीर अस्पतालबाट गर्नुपर्ने समेत उल्लेख गरे ।

चालु आर्थिक वर्षमा वीरको भौतिक विकासमा थपिने पूर्वाधारहरुले सेवा प्रवाहलाई अझ व्यापक बनाउने समेत उनले जनाए । सरकारी स्वास्थ्य प्रणालीलाई बलियो पार्नुपर्ने आवश्यकता औल्याउँदै स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललले रोग लाग्दा अर्को देश जानु नपर्ने अवस्था बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताए ।

मुलुकको स्वास्थ्य नीति को प्रतिबिम्ब वीर अस्पताल रहेको बताउँदै पोखरेलले स्वास्थ्य सेवामा सुधारको लागि जनशक्ति, औषधि, उपकरण, पूर्वाधार र स्थानीय समुदायको अपनत्व चाहिने समेत जनाए ।

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वीर,  शिक्षण लगायतका सरकारी अस्पतालमा सेवा उपलब्ध नभएर बाध्यतावस महंगो निजी अस्पतालमा सेवा किन्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए । यस्तै हाल सामान्य उपचारको लागि जिल्लाबाट केन्द्र आउनुपर्ने अवस्थाको समेत अन्त्य हुनु आवश्यक रहेको उनले बताए ।

वीरका निर्देशक डा.भुपेन्द्र बस्नेतले अस्पतालमा विशेषज्ञ चिकित्सक लगायतका अन्य प्राविधिक जनशक्तिमा उल्लेख्य वृद्घि गर्नुपर्ने बताए । उनले बाल, प्रसुती, मानसिक र आँखा सम्बन्धी सेवा थप गरेर सञ्चालन गर्न सरकारबाटै पहल हुनुपर्ने बताए ।

वीर अस्पतालको इतिहास
विसं १९४७ सालमा १५ शैय्याबाटसञ्चालन भएको यो अस्पतालमा हाल ४ सय ६० शैय्या छन् ।
गत आर्थिक वर्षमा बहिरंग विभागबाट यो अस्पतालमा करिब तीन लाख ८५ हजारजनाले स्वास्थ्य सुविधा लिएका थिए ।

सन् १९३३ मा मुलुक कै पहिलो चिकित्सा शिक्षा दिने सिभिल मेडिक स्कुलको प्रारम्भ समेत यहिबाट भएको थियो । यस अन्तर्गत कम्पाउन्डर, ड्रेसर र पछि नर्सिङ्ग शिक्षा शुरु भएको थियो ।

सन् १९८७ मा बेलायतको एफआरसिएस, एमआरसिपी र एमआरसिओजीको दक्षिण एशियाको केन्द्र समेत वीर मै रहेको थियो । सन १९९४ मा पीजीएमइसिसिबाट एमडी/एमएसको तालिम समेत वीरबाटै सुरु भएको हो ।

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत यहाँ एमडी/एमएस/एमडीएस/डीएम/एमसिएच को तालिम समेत हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com