सरकार, विदेशमा रहेका नेपालीको मतदाता परिचयपत्र दूतावासमार्फत बनाइदेऊ


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

-राधाकृष्ण देउजा

प्रवासी नेपालीहरुको अधिकारका सम्वन्धमा प्राय सवै पार्टीका नेताहरुले समय-समयमा प्रतिवद्धता व्यक्त गरिरहेको सुनिन्छ , अझै गैरआवासीय नेपाली (एनआरएन ) लाइ दोहोरो नागरिकता दिने विषय त एनआरएनले सधैं उठाउने अनि नेताहरुले सदैव प्रतिवद्धता जनाउने नै विषय हो l तर के त्यस्तो भएको छ त ? संविधानमा दोहोरो नागरिकता सम्वन्धमा प्रावधान त राखिएको छ तर “दिइने छ” भनेर हैन “दिन सकिने छ ” भन्ने आसय सहित ! यो अन्योलतालाइ चिर्दै भनिए अनुसार अधिकार दिइने त कहिले हो कहिले ? त्यो त समयले नै बताउला । ल मानौ दोहोरो नागरिकता सम्वन्धि व्यवस्थाको प्रष्टता र त्यसको कार्यान्वयन त आफ्नो देशको नागरिकता त्याग गरेर अर्काको देशको नागरिकता लिएका वा लिने क्रममा रहेकाहरुसंग जोडिएको विषय भएको हुनाले प्राथमिकतामा पर्न सकेको छैन । तर के विभिन्न कामले नेपाल बाहिर रहेका नेपाली नागरिकता त्याग्ने कल्पना समेत नगरेकाहरुको अधिकार सुरक्षित गर्ने तर्फ चाहिं ध्यान गएको छ त ? विडम्वनाका साथ भन्नुपर्छ त्यस्तो पनि देखिएको भने छैन । अनि आफ्नै नागरिक रहेकाहरुको अधिकार प्रति संवेदनशील हुनु पर्दैन ?

विभिन्न कामले गर्दा संसारका विभिन्न देशमा रहेका आफ्नै नागरिकहरुको अधिकार प्रति त संवेदनशिल नहुनेहरुले कसरि दोहोरो नागरिकताको दिंदै गैर आवासीय नेपालीहरुलाइ अधिकार देलान भन्ने सवाल अहिले ज्वलन्त बनेको छ । आफ्नै नागरिक रहेका प्रवासीहरुको अधिकारका सम्वन्धमा विद्धमान सम्पूर्ण पार्टीहरुमा देखिएको उदासिनता त प्रवासमा रहेका नेपालीहरुले आफ्नो मुलुकको निर्वाचनमा भाग लिन पाउन भन्ने चिन्ता नदेखिनुबाट नै प्रष्ट भएको छ । गफ निम्ती गफकै कुरा गर्ने हो भने त विदेशमा बस्ने नेपालीहरुलाइ विदेशमै बसेर मतदान समेत गर्न सक्ने व्यवस्थाको कुरा पनि भएकै हुन तर मतदाननै गर्ने व्यवस्थाको त टाढाको कुरा मतदानको निम्ती योग्य हुन आवश्यक मतदाता परिचयपत्रका निम्ती समेत स्वदेश नफर्की सुख छैन ।

अहिले नेपालमा धमाधम मतदाता परिचयपत्रको निम्ती फोटो खिच्ने काम भैरहेको छ तर जो नेपालीहरु विदेशमा छन उनीहरुले निर्वाचनमा मतदान गर्न आउने इच्छा नै राखे र सकिनसकी विदा मिलाए भने पनि उनीहरुले मतदान गर्न पाउदैनन किनकि उनीहरुसंग मतदाता परिचयपत्र हुदैन । नेपालको बजेटको ठुलो अंश विदेसिएका नेपालीहरुले पठाउने रेमिटेन्सले ओगटेको छ , के त्यसरी मेहेनत र पसिना बगाएर रेमिटेन्सको हिस्सेदार बन्नेहरुको हित उनीहरुको मुलुकको प्राथमिकतामा पर्नु पर्दैन ? पर्छ भने कमसेकम उनीहरुको मतदाता परिचयपत्रको निम्ती फोटो खिच्ने व्यवस्था उनीहरु बसेको मुलुकको एम्बेसीहरुमा गर्ने व्यवस्था गर्नु पदैन ?अनि यस्तो वेवास्ताको सच्चाईका बाबजुद प्रवासी नेपालीहरुको हितमा रहेको दावी गरिरहँदा लाज लाग्नु पर्दैन ?

कतिपयको निम्ती यो मुद्दा निरर्थक लाग्न सक्छ तर वास्तविकतामा यो अत्यन्त महत्वपूर्ण मुद्दा हो र यसको उचित सुनुवाई हुनुपर्छ । किन ? किनकि अरव , कतार लगायतका खाडी मुलुकमा पसिना बगाउनेहरु देखि यूरोप ,अमेरिका जस्ता राष्ट्रमा मजदुरी, अध्यन वा पेशा गर्नेहरुले पनि आफ्ना जनप्रतिनिधि छान्ने अधिकार पाउनु पर्छ । हो विदेशबाटनै मतदान गर्न दिनको निम्ति आवश्यक कानुन र प्रविधिको विकास नहुँदासम्म मतदान गर्न स्वदेशनै फर्कनु पर्ने अवस्था हुन्छ , र मतदान गर्न प्रवासीहरु फर्कंदा मुलुकको अर्थतन्त्रमा समेत थप सकारात्मक प्रभाव पर्छ तर उनीहरुलाइ मतदातानै बन्ने अधिकार नदिने हो भने कसरि हुन्छ ?

मतदाता परिचयपत्र बनाउन पनि स्वदेशनै फर्कन पर्छ , अनि मतदान गर्न त झन आउनै पर्यो भन्नु भनेको त तिमीहरुको दुख र पिडासंग हामीलाई के मतलब भन्नु बराबर हैन ? यदी साँचो अर्थमा प्रवासी नागरिकहरुको भावनाको कदर गर्ने मनसाय हो भने उनीहरुको मताधिकार सुरक्षित गर्न तत्काल आवश्यक व्यवस्था गर्नुपर्छ । त्यसको सुरुवात हुनुपर्छ एम्बेसीहरुमा मतदाता परिचयपत्रको निम्ती फोटो खिच्ने व्यवस्था गरेर । कतिपयलाइ लाग्न सक्ला यो खर्चालु हुन्छ भन्ने तर यो विल्कुल हुदैन किनकि एम्बेसीहरुमा नेपाल सरकारकै कर्मचारी हुने हुन , उनीहरुले राहदानी (पासपोर्ट) को काम गर्न सक्छन भने थोरै स्रोत र तालिम पाउँदा मतदाता परिचयपत्र बनाउन पनि सक्नेछन । हैन त्यसो नगरेर मतदाता परिचयपत्र बनाउन पनि नेपालमै हाजिर हुनुपर्छ भन्ने हो भने अहिलेका शासकहरु विदेशी भुमिमा आफ्नो बल र वुद्धि खर्चेर देशमा रेमिटेन्स पठाउनेहरु प्रति संवेदनशिल छैन भन्ने नै प्रमाणित गर्नेछ ।

तसर्थ नेपाल सरकार अनि नेपालका राजनीतिक दलहरुले तत्काल एउटा निर्णय गरेर विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता परिचयपत्र सम्वन्धित देशमा रहेको नेपाली एम्बेसी मार्फत बनाउन पाउने व्यवस्था गर्नुपर्छ । अन्यथा नेपालको जनसंख्याको ठुल्लो हिस्सा ओगटेको प्रवासी नेपालीहरुले आफुलाइ वेवास्ता गरिएको ठान्ने छन् र त्यो सवैको निम्ती महँगो पर्नेछ । समयमै चेतना भया ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com