फिल्मी शैलीमा इमाडोलमा ‘ग्याङ रेप’


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

१ मंसिरको साँझ ग्वार्कोस्थित दोहोरी साँझबाट फर्कंदा २० वर्षीया रश्मि (नाम परिवर्तन) लाई आफूमाथि सामूहिक बलात्कारको ब्रजपात पर्ला भन्ने कल्पनासमेत थिएन । दोहोरीमा काम सकेर १० बजे राति सहकर्मी साथीसँगै मंगलबजारस्थित कोठामा जान निस्किएकी रश्मि तीन जनाको सामूहिक बलात्कारको सिकार भइन् । त्यो पनि मध्यरातमा फिल्मीशैलीमा अपहरणमा परेर ।

राति एक्लै मंगलबजारस्थित डेरा पुग्नु रश्मिलाई सुरक्षित लागेन । त्यसैले उनले आफूसँगै काम गर्ने साथी राजविक्रम रावललाई पुर्‍याइदिन आग्रह गरिन् । रश्मि र राजविक्रम मंगलबजारस्थित डेरामा पुग्दा राति अबेर भैसकेको थियो । घरबेटीले गेट लगाइसकेका थिए । रश्मि त्यसपछि के गर्ने भन्ने अन्योलमा परिन् । राजविक्रमले इमाडोलस्थित आफ्नो कोठामा बस्न आग्रह गरेपछि उनीहरू मंगलबजारबाट फर्किए ।

 

इमाडोलको बाहुनचोकमा पुग्दा राति १ बजिसकेको थियो । बाटो सुनसान थियो । त्यति नै बेला तीन जना केटा बाइकमा हुइँकिँदै त्यही आइपुगे । उनीहरूले बाइक रोकेर रश्मि र राजविक्रमलाई घेरे । धम्कीपूर्ण शैलीमा कहाँ जान लागेको ? कहाँबाट आएको ? के गर्छौ ? जस्ता प्रश्न सोध्न थाले । ‘रश्मि र राजविक्रमलाई देख्नेबितिकै प्रहरीकै शैलीमा सोधपुछ सुरु गरेछन्,’ सातदोबाटो वृत्तका प्रहरी नायब उपरीक्षक रामेश्वरप्रसाद यादव भन्छन्, ‘केटाले मेरी बहिनीभन्दा तेरी गर्लफ्रेन्ड हो । राति–राति हिँड्छस्, गर्लफ्रेन्डलाई बहिनी भन्छस् भन्दै केटामाथि कुटपिट सुरु गरेछन् ।’

तीन जनाको कुटपिटका कारण राजविक्रम भुइँमा ढले । उनको हातमा चोट लाग्यो । केटाहरू रश्मिलाई बा ३१ प ७४२७ नम्बरको बाइक राखेर फिल्मीशैलीमा अलप भए । रश्मिलाई अपहरण गरेर फरार भएपछि राज उनको उद्धारका लागि प्रहरी गुहार्न पुगे ।
लगत्तै महानगरीय प्रहरी वृत्त सातदोबाटोले र उद्धारका लागि अप्रेसन सुरु गर्‍यो । ‘६/७ सय मिटर छेउबाटै मानिस गायब गरिएको थियो,’ डिएसपी यादवले भने, ‘रातको समय थियो, प्रहरीलाई खोजबिन गर्न पनि सहज थिएन । हामी जतिसक्दो चाँडो उनको उद्धार गर्न लागि पर्‍यौं ।’

बाहुनचोक वरपरका सम्भावित ठाउँहरूमा तदारूकतापूर्वक खोजी सुरु भयो । खोजी सुरु गरेको झन्डै दुई घण्टामा प्रहरीले ७ सय मिटर नजिकैको एउटा घरमा बत्ती बलिरहेको देख्यो । त्यही घरमा पुगेर खोजतलास गर्दा युवती र तीन जना युवकलाई प्रहरीले घटनास्थलमै पक्राउ गर्न सफल भयो, तर, एक जना युवक त्यति नै बेला प्रहरीलाई झुक्याएर भाग्न सफल भए ।

रश्मिले तीनै जना युवकले आफूमाथि जबरजस्ती पालैपालो बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छिन् । प्रहरीले रश्मिलाई अपहरण गरेर बलात्कार गर्ने प्रवेश थापा र सुशील अर्याललाई पक्राउ गरे पनि घटनाका मुख्य अभियुक्त निर्मल थापा भने भाग्न सफल भए । दोहोरीकी केटी हो, गलत काम गर्दा केही हुँदैन भन्ने मानसिकताका कारण रश्मिमाथि सामूहिक बलात्कार गरिएको छानबिनका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कारमा संलग्नहरूमध्ये फरार थापा नेपाली सेनाका भगौडा हुन् । प्रवेश भने आफू १० कक्षामा अध्ययनरत रहेको बयान प्रहरीलाई दिएका छन् । स्याङ्जा घर भएका सुशील अर्याल भने बीबीएस अध्ययनरत विद्यार्थी हुन् । ‘निर्मलको खोजी पनि जारी छ,’ डिएसपी यादवले भने, ‘त्यो पनि पक्राउ पर्छ, कतै लुकेर बसेको होला ।’ सुशील र प्रवेशमाथि भने प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com