नारायणगढ–मुग्लिन सडक खण्डमा रातमा पनि काम


प्रकाशित मिति : श्रावण ९, २०७४ सोमबार

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा समेत भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ ।

उक्त सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार राति ९ बजेदेखि बिहान ४ बजेसम्म काम गर्न थालिएको हो ।

नारायणगढबाट २२ किलोमिटरको दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने हुन्छ । दुईवटा एक्साभेटर र दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । दुई सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा करिब ६ मिटर मात्रै फराकिलो छ ।

सडकलाई १८ मिटर फराकिलो बनाइँदैछ । उक्त ठाउँमा करिब ३५ प्रतिशत काम बाँकी रहेको खनालले बताउनुभयो । रातमा सवारी साधन आवागमन बन्द गरेपछि असार २७ गतेबाट सो ठाउँमा रातिमा बत्ती बालेर काम थालिएको हो । तीन दिनयताबाट चेपाङ डाँडामा पनि रातिमा काम थालिएको छ ।
नारायणगढबाट ३३.८ किलोमिटर मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ । सो ठाउँमा केन्टिलिभर राखिने भएपछि ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । सो ठाउँमा सडक पाँच मिटर फराकिलो रहेको छ ।

चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । उक्त ठाउँमा ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ । काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेलिङ गरेर सम्याउने काम थालेको छ ।

हाल कालोपत्र गर्न तयारी थालिएको छ । सडकको ५.५ किलोमिटर क्षेत्रमा एक तहको कालोपत्र भएको भए पनि अन्य क्षेत्रमा काम हुनसकेको छैन । सडकको आठ सय मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी रहेको छ । सो सडक हालसम्म करिब ५२ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com