हावाबाट ३ किलोवाट


प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार

– विनोद त्रिपाठी

श्रावण ९, २०७४- जोमसोममा हावाबाट ३ किलोवाट विद्युत् बुद्ध पावर प्रालिले उत्पादन गरेको छ। स्पेनिस र नेपाली लगानीकर्ताको कम्पनीले १६ महिनाको परीक्षणबाट विद्युत् निकाल्न सफल भएको हो।

जोमसोम जिल्ला प्रहरी कार्यालय परिसरमा गरेको परीक्षणबाट प्रारम्भिक चरणमा तीन किलोवाट विद्युत् उत्पादन भएको छ। जोमसोम निकै हावा चल्ने ठाउँ हो। यहाँको भौगोलिक अवस्था अध्ययनपछि हावाबाट बिजुली निकाल्न सकिने भन्दै पुष्पराज तिमिल्सेना र स्पेनिस लगानीकर्ता राफेल भेनस पिच खटिएका थिए।

पहिलो चरणको परीक्षण सफल भएपछि जिल्लाभरिलाई पुग्ने विद्युत् उत्पादनका लागि पंखा र उपकरण थप गरी ४० मेगावाटको पावर प्लान्ट बनाउने योजना थालिएको तिमिल्सेनाले बताए। ‘हामी गएको वैशाखदेखि नै जिल्लाभरिलाई पुग्ने बिजुली कसरी निकाल्न सकिन्छ भन्ने परीक्षणमा छौं,’ उनले भने, ‘हालको तीन किलोवाट १६ महिनादेखिको पहिलो परीक्षणको नतिजा हो।’

निजी लगानीबाट निस्किएको बिजुली र यसको सबै संरचना सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी उनले दिए। पहिलो चरणको परीक्षणबाट उत्पादित बिजुली जिल्ला प्रहरी कार्यालयले प्रयोग गरेको छ। बिजुली निकाल्न प्रयोग भएका सबै सामान स्पेनबाट झिकाइएको हो। जडान गर्दा केही खर्चिलो भए पनि यसको टिकाउ २५ वर्ष हुने स्पेनमा व्यवसाय गरेका लगानीकर्ता तिमिल्सेनाले बताए। ‘प्रविधि र प्राविधिक सबै स्पेनबाटै ल्याएका हौं,’ उनले भने। पहिलो चरण सफल भएपछि दोस्रो चरणमा ठूलो आयोजनाको काम भइरहेको उनले बताए।

कम्पनीले हावाबाट बिजुली निकाल्न अत्याधुनिक मौसम मापन यन्त्र पनि जोमसोम प्रयोगमा ल्याएको छ। जोमसोमको हावा जुनसुकै दिशाबाट पनि बहने भएकाले सोहीबमोजिमको पंखा जडान गरिएको उनले बताए। ‘दुइटा टर्बाइन छन्, पंखा सानो हावाले पनि घुम्छ,’ उनले भने, ‘ठूलो हावा चल्दा पनि पंखा भाँचिने डर छैन। बरु त्यस्ता अवस्थामा आफैं बन्द हुन्छ।’ पंखासँगै आठवटा सोलार प्यानल छन्। त्यसबाट निस्कने ऊर्जा पनि ब्याट्रीमा सञ्चित हुन्छ। ब्याट्रीमा सञ्चित बिजुली तार तानेर बाहिर खपतको व्यवस्था मिलाइएको छ। मुलुकमै पहिलो प्रयोग रहेको उक्त प्रविधि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा भित्र्याइएको हो।

मौसम मापन यन्त्रले मिति, हावाको गति, हावामा पानीको मात्रा, तापक्रम र सापेक्षिक आद्र्रताको अवस्था देखाउँछ। यहाँबाट देखाइएका सबै तथ्यांक वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको केन्द्रीय कार्यालयको कम्प्युटरमा देखिने व्यवस्था मिलाइएको छ। ‘विन्ड मिल’ प्रविधिको प्रयोग युरोपेली मुलुकमा सफल रूपमा भएकाले मुस्ताङमा दीर्घकालीन रूपमा सफल हुनेमा विश्वस्त रहेको तिमिल्सेनाले बताए।

Source : Ekantipur

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com