प्रधानमन्त्री देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लुको भेटवार्ता


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला सहायक विदेश मन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका मैत्रिपूर्ण र सहयोग सम्बन्धका विविध आयामबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाललाई अमेरिकाको निरन्तर विकास सहयोगका लागि धन्यवाद दिँदै उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षासमेत गर्नुभएको थियो ।

यसअघि आजै सहायक विदेश मन्त्री लुले परराष्ट्र मन्त्री डा नारायण खड्कासँग पनि भेटवार्ता गर्नुभएको थियो । बिहिबार साँझ नेपाल भ्रमणमा आउनुभएका सहायक विदेश मन्त्री लुले यस अघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ । यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com