ह्वाइट हाउसको गेटमा गाडी ठोक्किदा चालकको मृत्यु, ह्वाइट हाउसमा सुरक्षा खतरा नभएको स्पष्ट


प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार

ह्वाइट हाउस कम्प्लेक्स वरपरको सुरक्षा गेटमा गाडी ठोक्किएर चालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ह्वाइट हाउस कम्प्लेक्सको बाहिरी परिधि गेटमा गाडी ठोक्किएको हो ।

शनिबार अबेर भएको यो घटनाको ट्राफिक दुर्घटनाको रूपमा अनुसन्धान भइरहेको छ । उच्च गतिमा रहेको गाडी शनिबार राति ह्वाइट हाउस कम्प्लेक्सको एउटा गेटमा ठोक्किएको र ह्वाइट हाउसमा कुनै सुरक्षा खतरा नरहेको अमेरिकी सेक्रेट सर्भिसका प्रवक्ताले एक विज्ञप्तिमा बताएका छन् ।

घटना हुँदा राष्ट्रपति जो बिडेन डेलावेयरमा सप्ताहन्त बिताइरहेका थिए । राती साढे १० बज्नैलाग्दा यो घटना भएको थियो । चालकको पहिचान सार्वजनिक गरिएको छैन । चालक दुर्घटना पछि गाडीमा मृत फेला परेका थिए ।

महानगरीय प्रहरी विभागले गाडी १५ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नर्थ वेष्टको चौराहामा सुरक्षा अवरोधमा ठोक्किएको थियो। प्रहरी राति १०ः४६ बजे घटनास्थलमा पुगेको थियो । सेक्रेट सर्भिसले सुरक्षा प्रोटोकलहरू राखिएको बताएको छ। सेक्रेट सर्भिस र प्रहरीले अनुसन्धान जारी राख्ने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com