खतरनाक समस्याका कारण जोन्सन एण्ड जोन्सन भ्याक्सिन अमेरिकामा लगभग प्रतिबन्ध


प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार

गरिव देशहरुमा धेरै प्रयोग भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिनमाथि अमेरिकामा लगभग प्रतिबन्ध लगाइएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक एजेन्सी एफडीएले जोन्सन एण्ड जोन्सनमाथि प्रतिबन्धहरु लगाएको हो ।

रगत जम्ने दुलर्भ तर खतरनाक जोखिमका कारण यो भ्याक्सिनमा कडा मापदण्डहरु तोकिएको छ । अन्य भ्याक्सिनहरु लगाउनै नहुने र अन्य भ्याक्सिनमा पहुच नभएका कारण विकल्प नै नभएको अवस्थामा मात्र १८ बर्षभन्दा माथिका व्यक्तिले यो भ्याक्सिन लगाउन सक्ने एफडीएले जनाएको छ ।

एफडीएका अनुशार फाइजर, मोडेर्नाजस्ता एमआरएनए भ्याक्सिनको कडा प्रकारको एलर्जी भएकाहरु, एमआरएनए भ्याक्सिनमा कडा प्रकारको चासोका कारण जोन्सन एण्ड जोन्सन भ्याक्सिन नलगाएको खण्डमा भ्याक्सिनविहिन हुनेहरु, एमआरएनए भ्याक्सिनमा पहुच नभएकाहरुले भने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाउन सक्नेछन् ।

विहिबारसम्म अमेरिकामा जोन्सन एण्ड जोन्सन भ्याक्सिनका १८ दशमलव ७ मिलियन डोज लगाइसकिएको छ । एकडोजमात्र लगाए पुग्ने भनिएको यो भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा ७ दशमलव ७ प्रतिशत रहेका छन् । पहिलो डोज जोन्सन एण्ड जोन्सन लगाएकाहरुले बुस्टरका रुपमा मोडेर्ना वा फाइजर लगाउनसक्ने यस अगाडि नै सिफारिस गरिएको थियो ।

अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो।

गियान बार सिन्ड्रोम र रगतका थोपा जम्ने समस्या

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनबाट प्रतिरक्षा प्रणालीमा डिस्अर्डर पैदा हुने गियान बार सिन्ड्रोम समेत देखिएको थियो । गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।

भ्याक्सिन लगाएपछि खुट्टा र पाखुरामा झमझमाउने, हिडडुल गर्न कठिन हुने, अनुहारको चालमा समस्या हुने, दुईवटा दृश्य देखिने, आँखा चलाउन गाह्रो हुने, दिशापिसाव नियन्त्रण गर्न गाह्रो हुने लगायतका समस्या देखिएमा यो गम्भीर प्रकारको समस्या हो । यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्य सहायता खोज्नुपर्छ वा अस्पताल गइहाल्नुपर्छ । भ्याक्सिन लगाएपछि व्यक्तिमा झमझमाउने र कमजोरी अनुभव भएमा तत्काल स्वास्थ्य सहायता खोज्न एफडीएले सुझाव दिएको छ ।

त्यस्तै भ्याक्सिन लगाएकाहरुमा दुर्लभ प्रकारको रगतका थोपा जम्ने समस्या प्राय ५० बर्षभन्दा कम उमेरकाहरुमा देखिएको थियो । यसका लक्षणहरु स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, खुट्टा सुनिने, पेट असाध्यै दुख्ने, दृश्यहरु दुईवटा देखिने लगायत रहेका छन् । त्यस्तै सहनै नसकिनेगरी टाउको दुख्ने र भ्याक्सिन लगाएको स्थानभन्दा तलपट्टी छालामा साना रगतका धब्बा देखिएमा पनि तत्कालै स्वास्थ्य सहायता खोज्न सुझाव दिइएको छ । भ्याक्सिन लगाएपछि यस्ता साइड इफेक्ट देखिएमा तत्कालै स्वास्थ्य सहायता खोज्नुपर्छ ।

यस्ता साइड इफेक्टहरु गम्भीर प्रकारका हुनसक्छन् । यस्ता साइड इफेक्टहरु भ्याक्सिन लगाएको दुईसाताभित्रमात्र देखिने गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com