चिनियाँ नागरिकको आत्मघाती हमलामा ज्यान लिने महिलाका परिवार यस्तो भन्छन्..


प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार

पाकिस्तानमा बलूचिस्तान प्रान्तको प्रमुख शहर तुर्बतबाट केही किलोमिटर मात्रै टाढा अवस्थित कलातक नै त्यो शहर हो जहाँ कराँचीमा आत्मघाती हमला गर्ने शारी बलोच आफ्नो विवाहपछि १० वर्षअघि सरेकी थिइन् ।

यसै शहरको प्राथमिक विद्यालयमा शारीले आफ्नो पहिलो जागिर खाएकी थिइन् र आज पनि मुख्य सडकको किनारामा रहेको स्कूलको भवनको चारैतिर ‘स्वतन्त्रताको एउटै बाटो, छापामार युद्ध’ जस्ता नारा रातो रङमा लेखिएको देख्न सकिन्छ ।

शारी बलोचको पहिचान उनको संगठन बलोच लिबरेहन आर्मीको मजिद ब्रिगेडले एक आत्मघाती हमलाकर्ताको रुपमा त्यतिबेला गराएको थियो जब प्रहरीले सिसिटिभी फुटेजको मद्दतले बिस्फोट गराइएको स्थानमा एक महिलाको उपस्थिति रहेको पत्ता लगायो ।

सिन्ध पुलिसले कराँचीमा शारी बलोचको ठेगाना पहिचान गर्न अपरेशन चलाएको छ तर बीबीसी उर्दू टोलीले उनको क्षेत्र कलटकको भ्रमण गरेको छ र यस अपरेशनपछि त्यहाँको अवस्था पत्ता लगाउने प्रयास गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तुर्बत शहरबाट कलातक पुगेपछि एकजना बटुवालाई शारीले पढाउने गर्ल्स स्कूल कुन हो भनेर सोध्दा उनले एउटा भवनतर्फ इशारा गरे ।
६ कोठा भएको यो स्कूललाई हेर्दा लाग्छ कि यसको हालै मर्मत र रङरोगन गरिएको छ । यसको बाहिर युरोपेली संघ र बलूचिस्तान सरकारको एउटा संयुक्त बोर्ड लगाइएको छ ।

 


हामी स्कूलको खोजीमा यसकारण पनि थियौँ किनभने शारी बलोचकी एकजना साथीले बीबीसीसँग भेट्नका लागि स्कूल बाहिर बोलाएकी थिइन् । हामी शारीको साथीलाई पर्खन भवनबाहिर रोकियौँ तर केही समयमै महिलाले भाइले त्यहाँ आउन अनुमति नदिने भएकोले उनी आउन नसकेको बताइन् ।

यस्तो जवाफ पाएपछि हामी पुनः तुर्बत फर्कियौँ र शारीको घर खोज्न थाल्यौँ । हामीले शारी बलोचका पिता हयात बलोचको घर तुर्बत शहरको ओभरसिज कोलोनीमा रहेको र हयात बलोच तुर्बन युनिभर्सिटीका अवकाशप्राप्त रजिस्ट्रार भएको थाहा पायौँ । उनले यसअघि योजना एवं विकास विभागमा पनि काम गरिरसकेको हामीलाई थाहा भयो ।

खोज्दै जाँदा त्यो घर पुग्दा सरकारी नम्बर प्लेट भएका केही सवारीसाधन सडकमा पहिल्यै देखिन थालेका थिए ।

उक्त घरको आँगनमा करिब एक दर्जन मानिस पहिले नै थिए जबकी भित्रको कोठामा तीभन्दा धेरै मानिस बसेका थिए । तर अचम्मको कुरा के हो भने त्यहाँ यो घटनाबारे कुनै कुरा भइरहेको थिएन ।

उनीहरु हयात बलोचलाई समवेदना व्यक्त गर्न पुगेका थिए । अहिलेसम्म अन्त्येष्टी नभएकोले अन्य विधि केही पनि सुरु भएका थिएनन् । यहीँ हामीलाई थाहा भयो कि केही आफन्त शारीको शव लिन कराँची पुगेका थिए ।

मैले शारीका पिता हयात बलोचलाई घटनाबारे कहिले थाहा भयो भनेर सोध्दा उनले मंगलबार करिब चार, साढे चार बजे टिभी र सोसल मिडियाबाट यो खबर आएपछि थाहा भएको बताए । त्यतिबेलादेखि उनी गहिरो शोकमा छन् ।

त्यति नै बेला उनको गला अवरुद्ध भयो तर उनले छिट्टै यसमाथि नियन्त्रण पाए ।

हयात बलोचका अनुसार शारी डेढ महिना अघि एक विवाहमा समावेश हुन तुर्बत आएकी थिइन् । उनले अन्तिमपटक छोरीलाई केही हप्ताअघि कराँचीमा भेटेका थिए । त्यतिबेला शारीले उनलाई आफू छिट्टै तुर्बत आउने बताएकी थिइन् । उनले भने, ‘उनी त आइनन्, तर यो खबर आइपुग्यो ।’

हयात बलोचका १० सन्तान छन् र तीमध्ये ३१ वर्षीय शारी छैटौँ नम्बरमा थिइन् । उनका अनुसार शारीले क्वेटा विश्वविद्यालयबाट एमएससी जुलोजी गरेकी थिइन् त्यसपछि उनी प्राथमिक र माध्यमिक स्कूलकी शिक्षिका रहिन् र यति नै बेला उनले अल्लामा इकबाल युनिभर्सिटीबाट बी।एड र एम।एड पनि गरिन् ।

शारीले झैँ हयात बलोचका अन्य सन्तानले पनि उच्च शिक्षा हासिल गरेका छन् र तीमध्ये धेरै सरकारी पदमा छन् । शारीका श्रीमान् हेबातन बशिर पनि एक डाक्टर हुन् जबकी उनका एक देवर न्यायाधीश, एक असिस्टेन्ट ट्रेजरी अफिसर र दुई युनिभर्सिटीमा शिक्षाको क्षेत्रसँग सम्बन्धित छन् ।

हयात बलोचले दिएको जानकारी अनुसार शारीका श्रीमान् उनकै छिमेकमा बस्दथे । उनीसँग विवाह गरेपछि उनीहरु कलातक गएको र त्यहाँबाट करिब डेढ वर्ष अघि कराँची सरेका थिए ।

हयात बलोच भन्छन्, ‘शारीका श्रीमान् कराँचीमा अमेरिकी डेभलपमेन्ट एजेन्सीमा काम गर्छन् । शारीले कराँची युनिभर्सिटीबाट एम।एल गर्ने तयारी गरिरहेकी थिइन् तर भर्ना भने भएकी थिइनन् ।’


शारीका पिताको उनको उनका आफन्त यो घटनापछि शारीका बच्चाबारे चिन्ति देखिए किनभने उनका दुई सन्तान र शारीका श्रीमान् डाक्टर हेबतान बहिरसँग कसैको पनि कुनै सम्पर्क हुन सकेको थिएन ।

हमलाको लगभग १० घण्टापछि शारीरका श्रीमान् हेबतानले शारी र बच्चासँग आफ्नो एउटा तस्बिर सेयर गरे जसमा उनले भिक्ट्रीको निशान बनाएका छन् । यो तस्बिरसँग आफ्नो मेसेजमा उनले आफ्नी श्रीमतीको यो कदमको तारिफसमेत गरेका थिए ।

बलोच लिबरेशन आर्मीको तर्फबाट पनि बीबीसीलाई पठाएको एउटा सन्देशमा शारी बलोचले आफ्ना श्रीमानसँग राम्रोसँग सर–सल्लाह गरेर पूर्ण होशमा यो घटना घटित गराउने निर्णय लिएको दाबी गरेको छ । यद्यपि, अहिलेसम्म सरकारी स्तरमा यो घटनाको अनुसन्धानमा न त हेबातानलाई समावेश गरिएको भन्ने खबर आएको छ न नै शारी बलोचका परिवारको तर्फबाट कुनै पुष्टि गरिएको छ ।

शारीका पितालाई भेट्नु अघि हामी उनका ठूलो बुवा गनी परवाजको घरमा पनि गयौँ । गनी बलोच भाषाका लेखक, मानवाधिकार आयोगका एक वरिष्ठ कार्यकर्ता हुन् र आफ्नो युवावस्थामा राजनीतिक रुपमा सक्रिय पनि भएका थिए ।

उनले भनेका थिए, ‘हामी शारीबारे यस्तो कहिल्यै पनि सोच्न सक्दैनथ्यौँ । हामी त यो कुरा सुनेर हैरान छौँ । त्यस रात जब म कोठामा बसेर बच्चासँग कुरा गरिरहेको थिएँ तब अचानक एक बच्चाले यस्तो भयो भनेर जानकारी दिए ।’

‘ती तस्बिर बारम्बार देखाइयो, नाम देखाइयो । मैले यो त साँच्चै नै हाम्री शारी हो भनेँ त्यसपछि हामी राती उनको घरमा गयौँ । उनका पिता र परिवारका अन्य सदस्यले पनि विश्वास गर्न सकिरहेका थिएनन् तर अन्ततः विश्वास गर्नै पर्यो । अहिले पनि यो एउटा खराब सपना हो जस्तो लागिरहेको छ ।’

गनी परवाजका अनुसार उनले यो घटनापछि शारीका सबै भाइ–बहिनीसँग कुरा गरेर शारीको उग्रवाद प्रति झुकावबारे थाहा थियो भनेर बुझ्न खोजेका थिए । उनका अनुसार सबैजनाले ‘राष्ट्रवादी राजनीतिमा उनको रुची थियो र उनी राजनीतिबारे कुरा गर्ने गर्थिन्’ भन्ने जानकारी दिए ।

यद्यपि, गनी परवाजले भने, ‘जब म आफ्नी भतिजीसँग कुरा गर्दथेँ तब विषय दर्शनशास्त्र हुने गर्दथ्यो, राजनीति होइन र शारीले मलाई दर्शनशास्त्रसँग सम्बन्धित मात्रै प्रश्न सोध्थिन् र मेरो बाट दर्शनशास्त्रबारे किताब पनि लिएकी थिइन् ।’

आफ्नो दाइको यो दाबी विपरित शारीका पिताले भने, ‘जब उनी बलूचिस्तान युनिभर्सिटीमा थिइन् त्यतिबेला उनले राजनीतिमा भाग लिन सुरु गरेकी थिइन् । शारीले सन् २०१२ मा मास्टर्स गरेकी थिइन्, लगभग चार वर्षसम्म राजनीति गरिन् । तर्बुतबाटै उनी बिएसओमा समावेश भएकी थिइन् । उनले बिएसओको पत्रिका ‘आजाद’ मा लेख्ने गर्थिन् ।’

सोसल नेटवर्किङ साइट ट्विटरमा सक्रिय बीएओकी केन्द्रीय समितिका पूर्व सदस्य प्रधान बलोचका अनुसार जब बिएसओ स्वतन्त्र र उग्रवादी संगठनले सन् २०१३ मा चुनाव बहिष्कार गरेको थियो तब शारीले त्यतिबेला क्वेटामा निकालिएको र्यालीमा पनि भाग लिएकी थिइन् ।

प्रधान बलोचले हाई स्कूलका दिनदेखि नै उनको राजनीतिक साहित्य पढ्न रुची भएको बताएका थिए ।

शारी बलुचिस्तानको मकरान क्षेत्रबाट थिइन् र पसनी, ओरमारा, जीवानी, ग्वादर, तुर्बत, पंजगुर, तम्प र मन्डको यो क्षेत्रलाई सरदारीको प्रभावबाट स्वतन्त्र क्षेत्र मानिन्छ जहाँ पुरुष र महिलाको साक्षरता दर अन्य क्षेत्रको तुलनामा बढी छ । सार्वजनिक र नीजि क्षेत्रमा यहाँका युवाको उपस्थिति पनि प्रष्ट छ । यतिमात्रै होइन, राजनीतिक रुपमा पनि यो क्षेत्र राष्ट्रवादी र वर्गसंघर्षको अग्रपंक्तिमा रहेको छ ।

शारी बलोचको यो अतिवादी कदमले उनको परिवारलाई अनिश्चित र चिन्तित बनाएको छ भने बलुचिस्तान बाहिरका विश्वविद्यालयमा अध्ययन गर्ने बलुच विद्यार्थीहरुको जीवनमा यो आतंकवादी घटनाको प्रभावबारे पनि बहस चलिरहेको छ ।

केही बलुच विद्यार्थीहरूले सामाजिक सञ्जालहरूमा आक्रमणको निन्दा गरेका छन् र यसबारे कुराकानी गरिरहेका छन् । शारीलाई सम्बोधन गर्दै कुलसुम बलोचले लेखिन्, ‘तपाईंले सामान्य विद्यार्थीहरू फस्टाउने ठाउँलाई बर्बाद गरिदिनुभयो । तपाईंले वर्षौं लगानी गरेको त्यो ठाउँ पनि ध्वस्त पारिदिनुभयो । ’

‘निर्दोषहरूलाई मार्नुमा कुनै गर्व छैन । शिक्षा लिन चाहने बलोचहरूलाई उत्पीडन गर्नेहरु र तपाईंमा कुनै भिन्नता छैन । आशा छ कि कराँची विश्वविद्यालयमा बलोच विद्यार्थीहरूले कुनै परिणामको सामना गर्नेछैनन् । उनीहरूलाई कुनै उत्पीडन वा थप भेदभाव हुनेछैन ।’-बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com