४ जनाको ज्यान जानेगरी विद्यालयमा गोली चलाउने १५ बर्षीयका बाबुआमाबिरुद्ध पनि हत्या अभियोग


प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार

अमेरिकाको मिसिगनमा रहेको अक्सफोर्ड हाइस्कुलमा ४ विद्यार्थीको ज्यान जाने र ७ जना घाइते हुनेगरी बन्दुक चलाउने १५ बर्षका विद्यार्थी इथान क्रम्बलेका बाबुआमाबिरुद्ध पनि ‘अनैच्छिक हत्या’ को अभियोग लगाइएको छ । अभियोजनकर्ताहरुले बाबुआमाबिरुद्ध पनि नियत नराखीकनै गरेको ‘अनैच्छिक हत्या’ को अभियोग लगाउने घोषणा गरे लगत्तै क्रम्बलेका बाबुआमा भने फरार भएका छन् ।

उनीहरुका वकिलले पनि क्रम्बलेका बाबुआमा फरार भएको नभई सुरक्षाका कारण सिटीबाहिर गएको र अभियोगका लागि फिर्ता हुने बताएका छन् । आफूहरुले क्रम्बलेका बाबुआमाले अभियोगका लागि आत्मसमर्पण गर्ने सन्दर्भमा अभियोजनकर्ताहरुसँग कुराकानी गरेपनि अभियोजनकर्ताहरुले आफूहरुसँग सम्पर्क नै नगरी पत्रकार सम्मेलन गरेको उनीहरुका वकिलको भनाई छ । प्रहरीका अनुशार क्रम्बलेका बाबुआमा शुक्रबार बेलुका ५ बजे अभियोगका लागि उपस्थीत हुने तय भएपनि नआएको प्रहरीको भनाई छ ।

गोली चलाउने १५ बर्षीय इथान क्रम्बले

इथान क्रम्बलेले ४ जनाको ज्यान लिन प्रयोग गरेको बन्दुक उनका बुबा जेम्स क्रम्बलेले घटनाको ४ दिन अगाडि ब्लाक फ्राइडेमा स्थानीय हतियार पसलबाट किनेका थिए । बन्दुक किन्ने बेला गोली चलाउने इथानपनि बाबुसँगै रहेको र पछि उनले मेरी नयाँ सुन्दरी भन्दै सामाजिक सञ्जालमा बन्दुकको तस्वीर समेत राखेका थिए । इथानकी आमाले पनि छोराको क्रिसमस गिफ्ट भन्दै बन्दुकको फोटो सामाजिक सञ्जालमा हालेकी थिइन् ।

१५ बर्षका इथानले कानूनी रुपमा बन्दुक राख्न नपाउने नियम रहेको छ भने केही अपवादबाहेक अधिकांश स्थानमा बन्दुक बोकेर हिड्न समेत पाउँदैनन् । तर उनका लागि उपहार भन्दै उनका बाबुआमाले नै इथानलाई बन्दुकका लागि प्रोत्साहित गरेका थिए । गोली चल्नुभन्दा एकसाता अगाडि नोभेम्बर २१ मा इथानले कक्षा चलिरहेको बेलामा आफ्नो फोनमा हतियारबारे इन्टरनेटमा सर्च गरेका थिए । शिक्षकले देखेपछि उक्त घटनाबारे विद्यालय प्रशासनलाई रिपोर्ट समेत गरेका थिए ।

विद्यालय प्रशासनले त्यसपछि इथानकी आमालाई फोन र इमेलमार्फत सम्पर्क गर्न खोजेको थियो । तर उनले त्यसको जवाफ दिइनन् । उनले घटनाबारे छोरासँग भने मेसेज गरेको खुलासा भएको छ । मेसेजमा उनले छोराले ४ जनाको ज्यान जानेगरी गोली चलाउँदा पनि आफू नरिसाएको बरु उसले कसरी समातिनबाट जोगिने भन्ने सिक्न आवश्यक रहेको उल्लेख गरेकी थिइन् ।

इथानले गोली चलाएको विहान शिक्षकले इथानको टेबुलमा एउटा नोट समेत देखेका थिए । जसमा इथानले बन्दुकको र एकजना व्यक्तिलाई दुईवटा गोली लागेको चित्र बनाएका थिए । उनले आफूमा यस्तो सोंच नरोकिएको समेत नोटमा लेखेका थिए । उनले मेरो जीवन निकम्मा भयो, जताजतै रगत जस्ता शब्दसमेत लेखेका थिए ।

त्यसपछि तत्कालै इथान र उनका बाबुआमालाई बैठकमा बोलाएर इथानलाई ४८ घण्टाभित्र काउन्सिलिङको व्यवस्था गर्न भनिएको थियो । बैठकमा इथानका बन्दुकबारेका नोट पनि देखाइएको थियो । तर बन्दुकको चित्र र गोली हानेको चित्र जस्ता केही भाग इथानले च्यातेका थिए । काउन्सिलिङको व्यवस्था गर्न भन्दा बाबुआमाले इथानले विद्यालय छाड्ने कुराको विरोध गरेका थिए भने इथानलाई छाडेर विद्यालयबाट निस्केका थिए ।

केहीबेरपछि इथान कक्षा कोठामा फर्किएका थिए । त्यसको केही घण्टापछि झोलाबाट बन्दुक निकालेर फायर गर्दा ४ जनाको मृत्यु भयो भने ७ जना घाइते भएका थिए । जब गोली चलाएको समाचार बाहिर आयो उनकी आमा जेनिफरले मेसेज पठाएर त्यसो नगर्न भनेकी थिइन् । त्यसको १५ मिनेटपछि इथानका बाबु जेम्सले प्रहरीमा फोन गरेर घरबाट बन्दुक हराएको र आफ्नो छोराले गोली चलाएको हुनसक्ने जानकारी दिएका थिए ।

गोलीकाण्डमा ज्यान गुमाएका ४ विद्यार्थीहरु

पछि अनुसन्धानका क्रममा इथानका बाबुआमाले उक्त बन्दुक बेडरुममै खुलै राखेको र इथानले बोकेर विद्यालय आएको खुलेको थियो । इथानबिरुद्ध आतंकवाद, हत्या र अन्य अभियोगमा मुद्दा दायर गरिएको छ ।

अमेरिकामा पछिल्ला बर्षमा बन्दुक हिंशाका घटनामा उल्लेख्य बृद्धि भएको छ । हालै एफबीआईले बार्षिक अपराध रिपोर्ट सार्वजनिक गर्दै अघिल्लो बर्षको तुलनामा सन् २०२० मा अमेरिकामा नरसंहारमा २९ दशमलव ४ प्रतिशतले बृद्धि भएको जनाएको थियो  । सन् १९६० को दशकदेखि एफबीआईले अपराध रेकर्ड राख्न थालेयता नै अघिल्लोबषएको तुलनामा यति धेरै अपराधमा बृद्धि भएको पहिलोपटक भएको जनाइएको छ ।

सन् २०२० मा अमेरिकाभर २१ हजार ५ सय ७० नरसंहारका घटना भएको रिपोर्टमा उल्लेख छ । त्यस्तै अमेरिकामा सन् २०२० मा १३ लाख हिंशात्मक अपराधका घटनाहरु भएका छन् । जुन सन् २०१९ को तुलनामा ५ प्रतिशतले बढी हो । गतबर्ष २१ हजार ५ सयभन्दा धेरै हत्याका घटनाहरु भएका छन् । एकबर्षमा यति धेरै नससंहारका घटनाहरु सन् १९९० को मध्ययता पहिलोपटक रेकर्ड गरिएको हो ।

सन् १९८० र सन् १९९० को दशकमा भने अमेरिकामा नरसंहारका घटना सबैभन्दा बढी देखिएका थिए । त्यतीबेलाको तुलनामा भने हत्यादर ४० प्रतिशतले कम रहेको छ । रिपोर्ट अनुशार सन् २०२० मा नरसंहारका घटनाहरु जुन र जुलाईमा उच्च देखिएका थिए । त्यसपछिका महिनाहरुमा बढ्दै गएको देखिएको छ ।

एफबीआईएले हरेकबर्ष अपराधबारेको तथ्यांक रिपोर्ट तयार गर्नका लागि कानून कार्यान्वायन एजेन्सीहरुबाट अपराधबारेका तथ्यांकहरु संकलन गर्दै आएको छ । झण्डै १८ हजार त्यस्ता एजेन्सीहरुमध्ये सन् २०२० मा १५ हजार ८ सय ७५ ले अपराधका तथ्यांकहरु एफबीआईएलाई दिएका थिए । एजेन्सीहरुले तथ्यांक बुझाएको दर ८५ प्रतिशत रहेको थियो । त्यसैले यो रिपोर्ट केही अपूरो रहेको छ । यद्यपी यसले अमेरिकामा अपराधको परिदृश्यलाई भने झल्काएको छ ।

तर एफबीआईएले अपराधबारे भएका विभिन्न सर्वेक्षणमा पनि नजर राख्दै आएको छ । अपराध न्याय र कोभिड १९ का लागि राष्ट्रिय आयोगले गरेको एउटा सर्वेक्षणमा पनि अमेरिकामा नरसंहारका घटनामा ३० प्रतिशतले नै बृद्धि भएको देखाइएको छ । नरसंहारका घटनाहरु बन्दुक हिंशाका घटनासँग जोडिएका छन् । सन् २०१९ मा बन्दुक हिंशाका घटनामा ३९ हजार ५ सय ३८ जनाको मृत्यु भएको थियो भने सन् २०२० मा ४३ हजार ५५९ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ४ हजारले बढी हो ।

यूसीआरको रिपोर्ट अनुशार अमेरिकामा सन् २०२० मा भएका ७७ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । सन् २०१९ मा भने ७४ प्रतिशत हत्याका घटनामा बन्दुकको प्रयोग भएको थियो । बन्दुक बिक्रिबारे कुनै तथ्यांक नभएपनि कोरोना महामारीमा अमेरिकामा बन्दुकको बिक्रिमा उल्लेख्य बिक्रि भएको स्वतन्त्र सर्वेक्षणहरुले देखाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com