Follow @khasokhasmag

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण लकडाउन आवश्यक छैन : बाइडेन


प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्टका कारण देशभित्र लकडाउन आवश्यक नभएको बताएका छन् । उनले कोरोनाको ओमिक्रोन भेरियन्ट चासोको कारण भएपनि आतंकको कारण नभएको बताए ।

यदि मास्क लगाएको खण्डमा र भ्याक्सिन लगाएको खण्डमा अहिलेका लकडाउन आवश्यक नभएको बाइडेनले बताएका हुन् ।

औषधी कम्पनीहरुले आवश्यक परेमा ओमिक्रोन भेरियन्टबिरुद्ध पनि काम गर्ने भ्याक्सिन बनाउन अध्ययन गरिरहेको उल्लेख गर्दै बाइडेनले कोरोनाको यो भेरियन्ट झण्डै अपरिहार्य रहेको बताएका छन् । बाइडेनले भने – ‘हामी यो भेरियन्टबिरुद्ध लड्दै र यसलाई पराजित गर्दैछौं ।’

क्यानडामा ओमिक्रोन भेरियन्ट पुष्टी भइसकेको छ भने अमेरिकामा अफ्रिकाका ८ वटा देशबाट प्रवेशमा रोक लगाइएको छ । आइतबार क्यानडामा नाइजेरियाबाट आएका दुईजनामा यो भेरियन्ट पुष्टी भएको थियो भने सोमबार तेश्रो व्यक्तिमा पनि भेटिएको थियो ।

बाइडेनले अमेरिकामा लगाइएको यात्रा प्रतिबन्धले यो भेरियन्टबारे अध्ययनका लागि थप समय प्राप्त हुने बताएका छन् । विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको यो भेरियन्ट बढी संक्रामक र भ्याक्सिनलाई छल्ने जोखिमको भए नभएको पुष्टी भएको छैन ।

ओमिक्रोन भेरियन्टको लक्षण अत्यन्तै नरम

कोरोनाको ओमिक्रोन भेरियन्टको लक्षण अत्यन्तै नरम भएको दक्षिण अफ्रिकाका चिकित्सकले बताएकी छन् । यो भेरियन्टबारे पहिलोपटक सार्वजनिक रुपमा चेतावनी दिएका चिकित्सकले नै यो भेरियन्टको संक्रमणपछि बिरामीमा देखिने लक्षण अत्यन्तै नरम भएको बताएकी हुन् ।

दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर एन्जेलिक कोयत्जीले विश्वब्यापी रुपमा भाइरल रहेको प्रभावशाली भेरियन्ट डेल्टाको भन्दा केही फरक लक्षणहरु पाइएपछि नोभेम्बर १८ देखि नयाँ भेरियन्टबारे सचेत गराएकी थिइन् । जसलाई विश्व स्वास्थ्य संगठनले पछि ओमिक्रोन नामाकरण गरेको थियो ।

सुरुमा ३३ बर्षका पुरुष बिरामीबाट ओमिक्रोन भेरियन्ट देखिन सुरु गरेको तथा उनलाई केहीदिन देखि अत्यन्तै थकान अनुभव भएको थियो । साथै शरीर दुख्ने र पीडा अनुभव हुने लक्षण देखिएको थियो भने टाउको समेत दुखेको थियो । ती बिरामीमा घाँटी दुख्ने समस्या भने नभएको जनाइएको छ ।

पहिलेका भेरियन्टमा जस्तो खोकी लाग्ने, स्वाद र गन्ध हराउने लक्षण समेत ओमिक्रोन भेरियन्टमा संक्रमितमा नदेखिएको डाक्टर एन्जेलिक कोयत्जीले बताइन् । घाँटी नदुखेपनि संक्रमितमा गला खसखस गर्ने समस्या भने देखिएको थियो । पहिलो पुरुष बिरामी हेरेकै दिन उनले डेल्टा भेरियन्टको भन्दा फरक लक्षण रहेका अन्य कोरोना संक्रमित बिरामीहरु पनि हेरेकी थिइन् ।

दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर एन्जेलिक कोयत्जी

त्यसपछि उनले अफ्रिकाको भ्याक्सिन सल्लाहकार समितिमा यसबारे जानकारी दिएकी थियन् । उक्त समितिमा डाक्टर एन्जेलिक कोयत्जी आफै पनि सदस्य रहेकी छिन् । उनले हेरेका अन्य ओमिक्रोन संक्रमितहरुमा पनि नरम प्रकारको लक्षणमात्र देखिएको र उनका साथीहरुले हेरेकाहरुमा पनि नरम लक्षण नै देखिएको उनको भनाई छ ।

आफूहरु कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको इपीसेन्टरमा रहेको र अहिलेसम्म कसैलाई पनि अस्पताल भर्ना गर्ने अवस्था नआएको उनले बताइन् । अन्य साथीहरुसँग कुरा गर्दा पनि यस्तै प्रकारको अवस्था रहेको उनको भनाई छ ।

यो भेरियन्टले कोरोनाको निदान, उपचार र खोपमा कस्तो प्रभाव पार्नेछ भन्ने थाहा पाउन अझै केही साता लाग्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । विज्ञहरु ओमिक्रोन भेरियन्टको ठूलो संख्यामा उत्परिवर्तनबाट चिन्तित भइरहेका छन् । यो भेरियन्टले पुन संक्रमणको जोखिम बढाएको प्राथमिक तथ्यांकहरुले देखाएका छन् । विगतका भेरियन्टको तुलनामा ओमिक्रोन दक्षिण अफ्रिकामा छिटो फैलिएको देखिएको छ ।

सन् २०१९ को अन्तिमतिर चीनमा कोरोना भाइरस पहिलोपटक देखिएपछि भेरियन्ट अनुशार लक्षण पनि केही फरक रहेका छन् । डेल्टा र अल्फा भेरियन्टले बढी टाउको दुख्ने, घाँटी दुख्ने, रुघा लाग्ने र ज्वरो आउने लक्षणहरु बढी देखिएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com