भारतीय मूलका पराग अग्रवाल ट्वीटरको सीईओ


प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार

ट्वीटरको सीईओमा भारतीय मूलका अमेरिकन पराग अग्रवाल नियुक्त भएका छन् । वर्तमान सीईओ ज्याक डोर्सीको बहिर्गमनपछि अग्रवाल नियुक्त भएको ट्वीटरले सोमबार जनाएको छ ।

ट्वीटरका प्रमुख प्रविधि अधिकारी अग्रवाल सीईओमा बढुवा भएका हुन् । सीईओ परिवर्तनको घोषणससँगै ट्वीटरको शेयरमा सोमबार १ दशमलव ५ प्रतिशतले गिरावट आएको थियो ।

४५ बर्षका ज्याक डोर्सी ट्वीटर र उनको डिजिटल पेमेन्ट कम्पनी स्क्वायरका सीईओ रहदै आएका थिए । उनी सन् २०२२ सम्म ट्वीटरको बोर्ड सदस्यका रुपमा भने रहिरहनेछन् ।

कम्पनी यसका संस्थापकहरुबाट अगाडि बढ्न तयार रहेको आफूलाई विश्वास भएकाले आफूले ट्वीटर छाड्न लागेको ज्याक डोर्सीको भनाई छ । तर उनले राजिनामा दिनुपर्नाको कारणबारे थप केही बताएका छैनन् ।

अग्रवालले सन् २०१७ देखि ट्वीटरमा प्रमुख प्रविधि अधिकारीका रुपमा काम गर्दै आएका थिए । तर उनी ट्वीटरसँग झण्डै एकदशकदेखि आवद्ध रहदै आएका छन् । उनले सन् २०११ मा बरिष्ठ इन्जिनियरका रुपमा ट्वीटरमा काम सुरु गरेका थिए ।

अग्रवालले इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजी बम्बईबाट अण्डरग्रयाजुएट गरेका थिए भने अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीबाट कम्प्युटर साइन्समा पीएचडी गरेका थिए । ४५ बर्षका अग्रवाल भारतमा स्नातक अध्ययनपछि उच्च शिक्षाका लागि अमेरिका आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com