क्यारेबियन राष्ट्र बारबाडोसबाट राजतन्त्रको अन्त्य, बन्यो विश्वकै कान्छो गणतान्त्रिक देश
प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार
विश्वका राजतन्त्रात्मक देशहरु मध्ये बारबाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ । क्यारेबियन राष्ट्र बारबाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो । बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सवैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ ।
बारबाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुग्नु भएको छ । बारबाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छ । हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गर्ने भएको हो ।
सोमबारदेखि मंगलबारसम्ममा गर्नेगरी सैनिक परेडदेखि विभिन्न झाँकी सहितका भव्य कार्यक्रम आयोजना गरिने भएका छन् । संक्रमणकालीन यस समारोहमा राजकुमार चाल्र्सले बार्बाडोससँगको बेलायतको परम्परागत सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा सम्बोधन गर्नुहुने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
बारबाडोसमा करिब दुई लाख ८५ हजार जनसंख्या छ । सन् १८३४ सम्म झण्डै २०० वर्ष बेलायती उपनिवेशसहित दासप्रथा कायम थियो । सन् १९६६ मा भने बारबाडोस बेलायती उपनिवेशबाट मुक्त भई स्वतन्त्र राष्ट्र बनेको थियो, तर बारबाडोसको राज्यप्रमुख (हेड अफ स्टेट) बेलायतकी महारानी हुने प्रचलन कायम थियो ।
गत अक्टोबरमा बार्बाडोसमा भएको निर्वाचनमा मेसोनले राष्ट्रपतिका रुपमा विजय हासिल गर्नु भएको थियो । बारबाडोसकी प्रधानमन्त्री मिया मोट्लेले देशले औपनिवेशिक विगतलाई पूर्ण रुपमा त्याग्ने घोषणा गर्नु भएको थियो । तर बारबाडोसको अर्थतन्त्रको मूल आधार पर्यटन रहेको र यसमा बेलायती पर्यटकको संख्या अधिक रहेकाले पनि बेलायतसँगको सम्बन्ध अझै पनि जरुरी पर्ने धेरै बारबाडोसी जनताको मत छ ।
तर बेलायती उपनिवेशको अवशेष पूर्ण रुपले अन्त गरेकामा आम जनताले खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोट्लेले बेलायती राजकुमार चाल्र्सलाई आमन्त्रण गरी “अर्डर अफ फ्रिडम अफ बार्बाडोस” ले सम्मान गर्न लागेको भन्दै आलोचना पनि भएको छ । एजेन्सी






