बेलायत र जर्मनीमा पनि भेटियो ओमिक्रोन भेरियन्ट, अमेरिकामा पनि छिरिसकेको आंशका


प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार

अमेरिकाको एलर्जी र संक्रामक रोग राष्ट्रिय संस्थानका निर्देशक तथा बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोनाको ओमिक्रोन भेरियन्ट अमेरिकामा पहिले नै छिरिसकेको हुनसक्ने र पत्ता लगाउनमात्र बाँकी रहेको हुनसक्ने बताएका छन् । अमेरिकामा अहिलेसम्म यो भेरियन्टको भाइरस पत्ता लगाउनमात्र बाँकी रहेको खण्डमा आफू आश्चर्यचकित नहुने र यस्तो प्रकारको भाइरस भएको खण्डमा सबैतिर फैलिने खतरा रहने भएकाले अमेरिकामा आइसकेको हुनसक्ने फाउचीले बताएका छन् ।

अमेरिकन सीडीसीले भने ओमिक्रोन भेरियन्ट अहिलेसम्म अमेरिकामा पत्ता नलागेको बताएको छ । भेरियन्ट भेटिएको देशबाट यात्रा प्रतिबन्ध लगाउनु भनेको स्थीतिको राम्रोसँग मूल्यांकनका लागि समय दिनु भएकाले अहिले नै नआत्तिन फाउचीले सुझाव दिएका छन् ।

यसैबीच बेलायतमा ओमिक्रोन भेरियन्टका दुईवटा मामलाहरु पुष्टी भएका छन् । दुईवटा मामलाहरु एकअर्कासँग सम्बन्धित रहेको र उनीहरुले दक्षिण अफ्रिकाको भ्रमण समेत गरेको जनाइएको छ । उनीहरुलाई परिवारका सदस्यहरुसहित आइसोलेसनमा राखिसकिएको छ । नटिंघम र चेल्म्सफोर्ड क्षेत्रमा लक्ष्यीत परीक्षण सुरु गरिने भएको छ ।

यसैबीच जर्मनीका उच्च अधिकारीले पनि ओमिक्रोन भेरियन्ट पहिले नै जर्मनी प्रवेश गरिसकेको उच्च सम्भावना भएको बताएका छन् । गएराती दक्षिण अफ्रिकाबाट फर्केका एक व्यक्तिमा ओमिक्रोनसँग सम्बन्धित केही उत्परिवर्तनसहितको भाइरस भेटिएको र उक्त व्यक्तिलाई आइसोलेसनमा राखिएको जनाइएको छ । तर परीक्षणको क्रम भने पूरा भइसकेको छैन ।

चेक रिपब्लिकले पनि नामिबियाबाट आएका एकजना यात्रुमा ओमिक्रोन भेरियन्ट भेटिएको आशंकामा अनुसन्धान गरिरहेको छ । उक्त व्यक्तिमा गरिएको पीसीआर परीक्षणमा ओमिक्रोन भेरियन्ट भएको उच्च सम्भावना भएको र अन्तिम पुष्टीका लागि थप परीक्षणहरु भइरहेको जनाइएको छ । ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टी भइसकेको छ ।

यूके, यूएसए जापान, बहराइन, श्रीलंका, ब्राजिल, अष्ट्रिया, फ्रान्स, इटली, नेदरल्याण्ड, माल्टा, स्वीट्जरल्याण्ड, ओमन, इजिप्ट, सिंगापुर, मलेसिया, दुबई, साउदी अरब, जोर्डन, जर्मनी, क्यानडा, ग्रिस, अष्ट्रेलिया, थाइल्याण्ड, रसिया, टर्की लगायतले कम्तीमा ६ अफ्रिकीदेशहरुबाट यात्रामा कडाई गरेका छन् । कतिपय देशले यात्रा प्रतिबन्ध नै लगाएका छन् भने कतिपयले मापदण्डमा कडाइको घोषणा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com