कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि विश्वभर त्रास, आधा दर्जन बढी देशले लगाए नयाँ प्रतिबन्ध


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ संक्रामक भेरियन्ट भेटिएपछि यसले विश्वभर चिन्ता र त्रास बढाएको छ । नयाँ भेरियन्टले प्रतिरोध प्रणालीमा बढी आक्रमण गर्ने र छिटो फैलिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

बी वान वान ५२९ नामको नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोट्स्वाना, बेल्जियम र इजरायलमा पुष्टी भइसकेको छ । बेल्यिजम नयाँ भेरियन्ट भेटिएको पुष्टी हुने पहिलो युरोपियन मुलुक हो ।

इटली, अष्ट्रिया, फ्रान्स, जापान, यूके, सिंगापुर, नेदरल्याण्ड, माल्टा, मलेसिया, मोरक्को र फिलिपिन्सले अफ्रिकाका कम्तीमा ६ देशबाट आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् । नयाँ भेरियन्ट दक्षिण अफ्रिकाका भागहरुमा अत्यन्तै तीब्र गतिमा फैलिइरहेको छ । यसको उत्परिवर्तन अत्यन्तै उच्च संख्यामा भएकाले पनि विश्वभर चिन्ता र चासो बढेको छ ।

स्पेनले पनि दक्षिण अफ्रिका र बोत्सवानाबाट यात्रा प्रतिबन्ध लगाउने भएको छ । नोभेम्बर ३० देखि लागु हुनेगरी यात्रा प्रतिबन्ध लगाउने तय भएको हो । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड १९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन् ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र सम्भवतः छिमेकी राष्ट्रहरूलाई असर गर्ने स्पानले बताएका छन् । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

बाइडेन प्रशासन र अमेरिकी एयरलाइन्सहरुले दक्षिण अफ्रिकामा बढेको कोरोनाको नयाँ भेरियन्टलाई नजिकबाट ध्यान दिइरहेका छन् । यद्यपी अहिलेसम्म यात्रा प्रतिबन्धबारे कुनै निर्णय भने गरिएको छैन । डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सले स्थीतिको गम्भिरतापूर्वक अवलोकन गरिरहेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com