न्युजर्सीका प्रहरीले चलाएको गाडीको ठक्करबाट पैदलयात्री नर्सको मृत्यु, शव बोकेर आफ्नै घरमा


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

न्युजर्सीको नेवार्कका एकजना प्रहरी अधिकारीले चलाएको गाडीको ठक्करबाट पैदलयात्री नर्सको मृत्यु भएपछि शव बोकेर घर गएको अभियोजनकर्ताहरुले बताएका छन् । घटनास्थलमा फर्कनुअगाडि ती प्रहरी अधिकारी आमाको सल्लाह लिन दुर्घटनामा मृत्यु भएकी नर्सको शव बोकेर गएको जनाइएको छ ।

प्रहरी अधिकारी २५ बर्षका लुई सेन्टियागोले चलाएको गाडीको ठक्करबाट २९ बर्षकी नर्स डेमियन डिमकाको गार्डेन स्टेट पार्कवेमा निधन भएको थियो । प्रहरी अधिकारी सेन्टियागोलाई पक्राउ गरिसकिएको छ । सेन्टियागोकी ५३ बर्षकी आमा एनेट सान्टियागो र गाडीमा रहेका अर्का व्यक्ति २५ बर्षका अल्बर्ट गुजमानबिरुद्ध पनि शवलाई लुकाउने र प्रमाणहरु नष्ट गर्ने षड्यन्त्र गरेको लगायतका अभियोग लगाइएको छ ।

ड्युटी सकेर फर्कदै गरेका सेन्टियागोले बाटोमा नर्सलाई ठक्कर दिएपछि ९११ मा फोन गरेका थिएनन् । साथमा रहेका गुजमानले पनि प्रहरीलाई खबर गरेनन् । उनीहरु बारम्बार घटनास्थलमा आएको समेत जनाइएको छ । शव बोकेर घरमा गएपछि उनीहरुले शव के गर्ने भन्नेबारे सल्लाह गरेका थिए ।

नेवार्क प्रहरीमा लेफ्टिनेन्ट रहेका सेन्टियागोका बाबुले पछि ९११ मा फोन गरेर आफ्ना छोराले दुर्घटना गराएको प्रहरीलाई बताएका थिए । त्यसपछिमात्र लुई सेन्टियागो घटनास्थलमा शवसहित आएका थिए । प्रहरीले दुर्घटनामा मृत्यु भएकी महिलाको शव गाडीको पछिल्लो सिटमा फेला पारेका थिए ।

वाहन हत्याका अतिरिक्त सेन्टियागोबिरुद्ध मृत्यु हुनेगरी भएको दुर्घटनापछि घटनास्थल छाडेको समेत अभियोग लगाइएको छ । घाइतेलाई खतरामा पारेको, शव चलाएको, प्रमाणहरु नष्ट गर्न खोजेको लगायतका अभियोगपनि उनीबिरुद्ध लगाइएको छ । सेन्टियागो, उनकी आमा र सँगै यात्रा गरेका गुजमानलाई शर्तसहित रिहा गरिसकिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com