आफूले नगरेको अपराधका लागि अमेरिकामा ४३ बर्ष जेल बसे केभिन, गोफण्डमीमा १ मिलियन सहयोग


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

आफूले नगरेको अपराधका लागि अमेरिकामा ४३ बर्ष जेल बसेर रिहा भएका केभिन स्ट्रीकल्याण्डलाई रिहा भएपछि हजारौंले अनलाइनमार्फत सहयोग गरिरहेका छन् । ४ दशकभन्दा लामो समय मिजौरीको जेलमा विताएका ६२ बर्षका केभिन मंगलबार निर्दोष सावित भएका थिए । उनी जेलमा पर्दा १९ बर्षका टीनएजर थिए भने रिहा हुँदा ६२ बर्ष पुगेका छन् ।

उनलाई सन् १९७९ मा हत्याका तीनवटा अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उनलाई ५० बर्षको जेल सजाय सुनाइएको थियो । तर जेल सजाय पूरा हुन ७ बर्ष बाँकी हुँदा उनी निर्दोष सावित हुन सफल भएका छन् ।

बरिष्ठ न्यायाधिस जेम्स वेल्सले उनीबिरुद्धका सबै अभियोगहरु खारेज गरिदिएका हुन् । केभिन नगरेको अपराधका लागि गलत तारिकाले दोषी ठहर भई मिजौरीमा सबैभन्दा बढी जेल सजाय विताउने व्यक्ति भएका छन् । उनी अमेरिकाकै इतिहासमा आफूले नगरेको अपराधका लागि लामो सजय जेल सजाय विताउनेमध्येका व्यक्ति भएका छन् ।

मिडवेष्ट इनोसेन्ट प्रोजेक्टले उनको सहयोगका लागि गोफण्डमीमा रकम संकलन सुरु गरेको छ । साढे ७ लाख डलरको लक्ष्यसहित सुरु गरिएको अभियानमा झण्डै १० लाख डलर संकलन भइसकेको छ ।

सन् २०१९ मा केभिन

जेलबाट रिहा भएपछि केभिन सुरुमा आमाको अन्तिम संस्कार गरिएको स्थानमा पुगेका थिए । आमाका पछिल्ला दिनहरुमा आफूले भेट्न नसकेको भन्दै उनी त्यहाँ पुगेका थिए ।

सन् १९७८ को अप्रिल २५ मा मिजौरीको कन्सासमा ४ जना व्यक्तिमाथि गोली हानिएको थियो । जसमध्ये तीनजनाको मृत्यु भएको थियो । घटनामा बाँचेकी सिन्थिया डगलसले घटनास्थलमा केभिन रहेको बयान दिएकी थिइन् । डगलसको पनि सन् २०१५ मा मृत्यु भइसकेको छ ।

डगलसले पछि आफ्नो बयानका क्रममा आफूले मदिरा सेवन गरेको र गाँजा खाएकाले केभिनको पहिचान गर्न असफल भएको र घटनामा केभिन संलग्न नभएको बताउँदै आएकी थिइन् । डगलसले केभिन निर्दोष रहेको बताएपनि केभिनलाई अदालतले सजाय सुनाइसकेकाले रिहा गरिएको थिएन । तर उक्त गोलीकाण्डमा सहभागी दुईजनाले भने १० बर्षको जेल सजाय पाइसकेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com