Follow @khasokhasmag

२ जनाको ज्यान लिएका श्वेत टिनएजरले अदालतबाट उन्मुक्तिपछि भेटे ट्रम्पलाई


प्रकाशित मिति : मंसिर ८, २०७८ बुधबार

अमेरिकामा जातीय विभेदविरुद्ध भएको प्रदर्शनका दौरानमा गोली हानेर २ जनाको ज्यान लिएका टिनएजर १८ बर्षका काइल रिटेनहाउसले अदालतबाट उन्मुक्ति पाएपछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका छन् । उनले ट्रम्पको फ्लोरिडामा रहेको मार ए लागो रिसोर्टमा ट्रम्पलाई भेटेका हुन् । फक्स न्यूजसँगको ट्रम्पको अन्तरवार्ताका क्रममा यो भेटघाटबारे खुलासा भएको हो ।

काइल रिटेनहाउसले फोन सम्पर्क गरेर आफू भेट्न आउन चाहेको बताएपछि आफूले भेटघाट गरेको ट्रम्पले बताएका छन् । रिटेनहाउस ट्रम्पलाई भेट्न आमासहित फ्लोरिडा गएको जनाइएको छ । उनीहरुबीच के कुराकानी भयो भन्नेबारे भने केही बताइएको छैन ।

रिटेनहाउसलाई उन्मुक्ति दिएपछि उक्त विषयमा सिंगै अमेरिका विभाजित भएको छ । हतियारको दुरुपयोगका सन्दर्भमा अमेरिकामा चर्को बहस भइरहेको सन्दर्भमा काइल रिटेनहाउसको उन्मुक्तिलाई हतियारका पक्षमा रहेका रिपब्लिकनहरु लगायतले आफ्नो विजयका रुपमा हेरेका छन् ।

रिटेनहाउसका पक्षमा मुद्दाको फैसला हुँदा केही व्यक्तिले आफूहरुले संविधानको दोश्रो संसोधन मन पराउने भन्दै नारावाजी गरेका थिए । तर कैयन व्यक्ति भने रिटेनहाउसको उन्मुक्तिबाट खुशी छैनन् । रिटेनहाउस यदि अश्वेत हुन्थे भने उनलाई गोली हानिने थियो भन्दै एकजना व्यक्ति रुदै अदालतमै ढलेका थिए ।

केनोसामा गतबर्ष एकजना श्वेत प्रहरी अधिकारीले अश्वेत ज्याकोब ब्ल्याकलाई ७ राउण्ड गोली हानेका थिए । त्यसपछि प्रदर्शन तीब्र बनेको थियो । गोली हान्ने प्रहरी अधिकारीलाई पनि कुनै कारवाही गरिएको थिएन । दुईजनाको ज्यान लिनेगरी गोली हान्ने रिटेनहाउसलाई पनि तत्काल पक्राउ गरिएको थिएन । अहिले रिटेनहाउस श्वेत भएकाले छुट दिइएको भन्दै अमेरिकामा विरोध प्रदर्शनहरु भएका छन् ।

अमेरिकामा चर्चित मुद्दाका अभियुक्त १८ बर्षका काइल रिटेनहाउसलाई ५ वटै अभियोगमा उन्मुक्ति दिइएको हो । उनले सन् २०२० को अगस्त २५ मा विसकन्सिनको केनोसामा जातीय न्यायका लागि भएको प्रदर्शनमा गोली चलाउँदा २ जनाको ज्यान गएको थियो भने १ जना घाइते भएका थिए ।

गोली चलाउँदा १७ बर्षका रहेका रिटेनहाउसले आत्मरक्षाका लागि गोली चलाएको बयान दिएका थिए । आफ्नो जीवन जोखिममा रहेको त्रासका कारण उनले गोली चलाएको उनको प्रतिरक्षामा बताइएको थियो । रोटेनहाउसले चलाएको गोली लाग्दा ३६ बर्षका जोसेफ रोजेनबम र २६ बर्षका एन्थोनी हबरको मृत्यु भएको थियो एकजना घाइते भएका थिए । गोली चलाउने रिटेनहाउस र गोली लागेकाहरु सबै श्वेत हुन् ।

प्रत्यक्षदर्शीका अनुसार केनोसा निवासी जोसेफ रोजेनबामले काइल रिटेनहाउसलाई पछ्याएका थिए । अचानक कोही तेश्रो पक्षले हावामा गोली हानेको थियो। त्यसपछि काइल रिटेनहाउस डराएका थिए । त्यसैबीच रोजेनबमले उनलाई प्रहार गरे । त्यसपछि रिटेनहाउसले रोजेनबममाथि गोली चलाए ।

त्यसपछि दौडिरहेका रिटेनहाउसमाथि अचानक एकजना व्यक्तिले लात हाने । रिटेनहाउसले ती उनीमाथि गोली चलाए । पछि एन्थोनी हबरले रिटेनहाउसको बन्दुक खोस्ने प्रयास प्रयास गर्दा रिटेनहाउसले हबरमाथि पनि गोली चलाए । अन्तमा ह्यान्डगन समातेका गेज ग्रोसक्रेट्जलाई पनि रिटेनहाउसले दाहिने बाइसेपमा गोली हाने ।

रिटेनहाउसबिरुद्ध आशययुक्त नरसंहार लगायतका ५ वटा अभियोगहरु लगाइएको थियो । यी अभियोगहरु पुष्टी भएको भए उनीबिरुद्ध अनिवार्य आजिवन कारावाशको सजाय हुने थियो । तर ७ जना महिला र ५ जना पुरुषसहितको १२ जनाको जुरी टिमले उनलाई सबै अभियोगमा उन्मुक्ति दिएको छ । पाँचपटकसम्म उनी निर्दोष रहेको फैसला उच्चारण गरिदा टीनएजर काइल रिटेनहाउस काप्दै भक्कानिएका थिए भने झण्डै ढलेका थिए ।

अदालती कारवाहीका क्रममा भिडियोका फ्रेमहरु समेत देखाइएको थियो । रिटेनहाउसका वकिलले आफूमाथि भएको आक्रमणबाट बच्न रिटेनहाउसले गोली चलाएको तर्क गरेका थिए । तर उनले किन कर्फयु आदेश तोडेर आफूले राम्रोसँग नचिनेका व्यक्तिको संरक्षणका लागि भन्दै गए भन्नेबारे प्रश्न उठेको थियो ।

अमेरिकामा बन्दुक हिंशा र जातीय भेदभावका सन्दर्भमा उच्च बहस श्रृजना गरेको यो मुद्दाको फैसलाका बारेमा समेत विभिन्न खाले प्रतिकृयाहरु सार्वजनिक भएका छन् । रिटेनहाउसले चलाएको गोली लागेर ज्यान गुमाएका २६ बर्षका एन्थोनी हबरका बुबाआमाले आफ्ना छोराको हत्याका लागि कसैलाई पनि जिम्मेबार नठहराइएको भन्दै दुख व्यक्त गरेका छन् ।

न्युयोर्कका मेयर बिल ब्लाजिओले अदालतको फैसलालाई घृणित बताएका छन् । तर विसकन्सिनका सिनेटर लगायतका रिपब्लिकनहरुले भने फैसलाको स्वागत गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू लगायत धेरै अमेरिकनहरुलाई यो फैसलाले आक्रोशित तुल्याएपनि जुरी बोलिसकेकाले शान्तिपूर्ण तरिकाले आफ्ना विचारहरु व्यक्त गर्न आव्हान गरेका छन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com