अमेरिकी इतिहासमा अहिलेसम्मकै धेरै ५० मिलियन ब्यारल तेल भण्डारबाट झिक्ने बाइडेनको घोषणा


प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार

अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्ने घोषणा गरेका छन् छन् । बाइडेनले रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्ने औपचारिक घोषणा गरेका हुन् ।

अमेरिकनहरुले पेट्रोलियम पदार्थको उचित मूल्य तिरेको सुनिश्चित गर्न कदमहरु चालिएको बाइडेनले बताएका छन् । पेट्रोलियम पदार्थको मूल्यबृद्धि सधै पीडादायक हुने उनले बताएका छन् । भण्डारणबाट एकैपटक यति धेरै तेल झिक्ने घोषणा गरिएको अमेरिकी इतिहासमा नै यो पहिलो पटक हो ।

तेल झिक्ने घोषणा चीन, भारत, दक्षिण कोरिया, यूके लगायतका मुख्यरुपमा तेलको खपत गर्ने देशहरुसँगको समन्वयमा गरिएको हो । रणनीतिक पेट्रोलियम भण्डार अमेरिकाको डिपार्टमेन्ट अफ इनर्जीले संचालन गरेको पेट्रोलियम पदार्थको भण्डारण हो ।

टेक्सासमा रहेको अमेरिकाको पेट्रोलियम भण्डार

अमेरिकाको लुजियाना र टेक्सासको भण्डारमा ७१४ मिलियन ब्यारल तेल भण्डारण गर्न सक्ने क्षमता रहेको छ । अहिले अमेरिकासँग ६२१ मिलियन ब्यारल तेल भण्डारमा रहेको जनाइएको छ । सन् १९७३ देखि १९७४ सम्म तेलमा लगाइएको रोकपछि अमेरिकाले सन् १९७५ देखि भविश्यमा आउनसक्ने आपतकालिन अवस्थाका लागि भन्दै तेलको भण्डारण सुरु गरेको हो ।

झण्डै एकदर्जन डेमोक्रेटिक सांसदहरुले भने बाइडेनलाई भण्डारणमा रहेको तेल झिकेरमात्र नभई अमेरिकाबाट तेलको निर्यात समेत रोकेर पेट्रोलियम पदार्थको मूल्यबृद्धि घटाउन आग्रह गरेका थिए । अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यबृद्धि चर्को बनेपछि घटाउने योजनाका लागि बाइडेन समक्ष दवाव बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com