बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक, रक्तचाप १२०/७०, राष्ट्रपतिको काम गर्न उपयुक्त


प्रकाशित मिति : मंसिर ४, २०७८ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य रिपोर्ट सार्वजनिक भएको छ । जस अनुशार उनी अमेरिकी राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्न उपयुक्त भएको देखिएको छ । राष्ट्रपतिका रुपमा कार्यभार सम्हालेपछि यो उनको पहिलो स्वास्थ्य रिपोर्ट हो ।

शुक्रबार वाल्टर रिड अस्पतालमा बाइडेनको नियमित स्वास्थ्य जाँच गरिएको थियो । जस अनुशार क्लोनोस्कोपीको दौरान बाइडेनलाई केहीबेर अचेत बनाइएको थियो । उक्त अवधिभर झण्डै ८५ मिनेटका लागि बाइडेनले राष्ट्रपतिको अधिकार उपराष्ट्रपति कमला ह्यारिसलाई सुम्पिएका थिए ।

भाषणका क्रममा बाइडेनले खोक्ने र बारम्बार गला सफा गर्ने गर्दै आएका थिए भने हिड्ने क्रममा कहिलेकाँही असन्तुलित हुने समस्या सार्वजनिक रुपमा नै देखिएको थियो । चिकित्सकहरुले यी दुई विषयमा खास चासोका साथ परीक्षण गरेका थिए ।

बाइडेनको मेरुदण्डमा गाँठो रहेको र सामान्य प्रकारको ड्यामेज रहेको एक्सरेमा देखिएको छ । ड्यामेज सामान्यमात्र रहेकाले थप उपचार आवश्यक नभएको जनाइएको छ । त्यसैका कारण बाइडेन बेलाबेलामा हिड्ने क्रममा असन्तुलित देखिएको चिकित्सकको भनाई छ । बाइडेनको अत्यन्तै विस्तृत न्यूरोलोजिकल परीक्षण गरिएको तथा पार्किन्सन, स्ट्रोक वा मल्टिपल स्क्लेरोसिसको कुनै लक्षण नदेखिएको रिपोर्टमा उल्लेख छ ।

बाइडेनमा हायटल हर्नियाको अवस्था रहेको जनाइएको छ । जसका कारण उनलाई बेलाबेलामा रिफ्ल्क्स गराउने र त्यसकै कारण भाषणका क्रममा वा अन्य बेला घाँटी सफा गर्ने वा खोक्ने अवस्था आउने गरेको चिकित्सकले बताएका छन् ।

बाइडेनको स्वास्थ्यबारे ६ पृष्ठलामो सारांश सार्वजनिक गरिएकोमा उचाई ५ फिट ११ इन्च, तौल १८४ पाउण्ड र रक्तचाप १२० ७० रहेको उल्लेख गरिएको छ । बाइडेनले सुर्ति सेवन नगर्ने र मादक पदार्थ पनि सेवन नगर्ने जनाइएको छ । साथै उनले सातामा ५ पटक शारीरिक अभ्यास गर्ने गरेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com