८५ मिनेटसम्म अमेरिकाको कार्यवाहक राष्ट्रपति भइन् कमला ह्यारिस, यस्तो थियो कारण र प्रकृया
प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार
Vice President Kamala Harris sits for an interview with NBC’s “The Today Show”, Feb. 17, 2021, from her ceremonial office in the EEOB in Washington, D.C. (Official White House Photo by Lawrence Jackson)
शुक्रबार अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले झण्डै ८५ मिनेटका लागि अमेरिकी राष्ट्रपतिको शक्ति प्राप्त गरिन् । अर्थात् उनले कार्यवाहक राष्ट्रपतिको जिम्मेबारी सम्हाल्ने मौका पाइन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नियमित क्लोनोस्कोपीका दौरानमा केहीबेरका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई अस्थायीरुपमा राष्ट्रपतिको शक्ति हस्तान्तरण गरे । क्लोनोस्कोपीका क्रममा बाइडेनलाई अचेत बनाइएकाले उनले उक्त अवधिका लागि शक्ति हस्तान्तरण गरेका थिए ।
केबल छोटो समयका लागिमात्र भएपनि कमला ह्यारिस राष्ट्रपतिको शक्ति प्राप्त गर्ने अमेरिकी इतिहासमा नै पहिलो महिला र पहिलो एसियन अमेरिकन भएकी छिन् । विहान १० बजेर १० मिनेटमा ह्यारिसलाई शक्ति हस्तान्तरण गरिएको थियो भने ११ बजेर ३५ मिनेटमा बाइडेनले पुन राष्ट्रपतिको जिम्मा सम्हाले ।

आज विहान बाइडेनलाई वाल्टर रिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा पनि सन् २००२ र २००७ मा यस्तै घटना भएको थियो । बुसको उपचारका क्रममा उपराष्ट्रपति डिक चेनीलाई शक्ति हस्तान्तरण गरिएको थियो । संविधानको प्रकृयाको पालना गर्दै एनेस्थेसियामा रहेको अवस्थाका लागि बाइडेनले राष्ट्रपतिको शक्ति हस्तान्तरण गर्नुपरेको हो ।
बाइडेनको अमेरिकी संविधानको २५ औं संसोधनको सेक्सन ३ को प्रयोग गरेर शक्ति हस्तान्तरण गरेका हुन् । यो प्रावधान अनुशार राष्ट्रपतिले विहान १० बजेर १० मिनेटमा अचेत अवस्थामा जानु अगाडि सिनेटका अस्थायी अध्यक्ष र हाउस स्पीकरलाई आफू शक्ति प्रयोग गर्न अक्षम रहेको व्यहोराको लिखित घोषणा दिएका थिए । त्यसपछि कार्यवाहक राष्ट्रपतिका रुपमा उपराष्ट्रपतिलाई शक्ति हस्तान्तरण गरिएको थियो ।
पत्रमा आफू अचेत बनाउनुपर्ने नियमित मेडिकल प्रकृयामा जान लागेकाले अस्थायीरुपमा आफ्नो काम, कर्तब्य र अधिकार उपराष्ट्रपतिलाई हस्तान्तरण गरिएको उल्लेख गरिएको थियो । बाइडेनका हातमा पुन राष्ट्रपतिको जिम्मेबारी फर्काउनका लागि उपचार प्रकृया लगत्तै अर्को पत्र पठाइएको थियो । जसमा आफू राष्ट्रपतिका रुपमा जिम्मेबारी लिन सक्षम भएको उल्लेख थियो ।
शनिबार ७९ बर्ष पुग्न लागेका बाइडेनको जन्मदिनको एकदिन अगाडि नियमित स्वास्थ्य जाँच गर्न गरिएको छ । राष्ट्रपति भइसकेपछि यो उनको पहिलो नियमित स्वास्थ्यजाँच हो ।





