अमेरिकाको मिसिसिपीमा पत्नीलाई गोली हानेर सौतेनी छोरीको बलात्कार गर्नेलाई मृत्युदण्ड
प्रकाशित मिति : मंसिर २, २०७८ बिहीबार
अमेरिकाको मिसिसिपीमा पत्नीलाई गोली हानेर मर्दै गरेकी पत्नीकै अगाडि सौतेनी छोरीको बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ । मिसिसिपीमा सन् २०१२ यता मृत्युदण्डको सजाय दिइएको यो पहिलो घटना हो ।
५० बर्षको डेभिड कोक्सले सन् २०१० मा मिसिसिपीमा पत्नीलाई गोली हानेर मृत्युवरण गर्दै गरेकी रक्तमुच्छेल पत्नीकै अगाडि उनकी १२ बर्षकी छोरी अर्थात् आफ्नी सौतेली छोरी लिन्डसे किर्कलाई ३ पटक बलात्कार गरेको पुष्टी भएको थियो । कोक्सले आफ्ना सबै अपिलहरु त्यागेर आफू मृत्युदण्डका लागि लायक भएको भन्दै आत्मसर्पण गरेको जनाइएको छ ।

उक्त व्यक्तिलाई घातक इन्जेक्सन लगाएर मृत्युदण्ड दिइएको छ । बुधबार देब्रे पाखुरामा तीनवटा रसायन मिसाएको इन्जेक्सन दिएको केहीबेरपछि बेलुका ६ बजेर १२ मिनेटमा मृत घोषणा गरिएको थियो । कुनै घटनाविना अत्यन्तै शान्तिपूर्ण तरिकाले उक्त व्यक्तिले मृत्युवरण गरेको र यति सहज तरिकाले मृत्युदण्डको काम भएको आफूले पहिलोपटक देखेको मिसिसिपीको करेक्नस कमिश्नरले बताए ।
मृत्युदण्ड अगाडि उक्त व्यक्ति कुनै बेला आफू अशल व्यक्ति रहेको कुरा आफ्ना छोराछोरीलाई बताउन चाहेको र आफूले छोराछोरीलाई असाध्यै माया गर्ने बताएको जनाइएको छ ।






