कोरोनोबिरुद्धको खाने चक्की प्रयोगका लागि अमेरिकामा फाइजरको आवेदन


प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार

कोरोनाबिरुद्धको खाने चक्कीको उच्च प्रभाकारिता पुष्टी भएपछि उत्पादक कम्पनी फाइजरले आपतकालिन प्रयोगको अनुमतिका लागि अमेरिकाको एफडीएमक्ष आवेदन दिएको छ । यदि एफडीएबाट स्वीकृति प्राप्त भएमा यो चक्की कोरोना संक्रमण भएकाहरुले घरमै मुखबाट यो चक्की सेवन गरेर सिकिस्त हुनबाट बच्न सक्नेछन् ।

क्वीनिकल परीक्षणका क्रममा उच्च जोखिममा रहेका संक्रमितहरुलाई यो चक्की दिंदा अस्पताल भर्ना हुने र ज्यान गुमाउने दरमा ८९ प्रतिशत कमी भएको थियो । संक्रमितहरुलाई लक्षण देखिएको तीनदिनभित्र यो चक्की खान दिइएको थियो ।

फाइजरले एफडीएसमक्ष मंगलबार आवेदन पेश गरेको जनाइएको छ । प्याक्सलोभिड नामको यो चक्की एचआईभी संक्रमितहरुलाई रिटोनाभिरसँगै दिइएको थियो । स्वीकृत भएमा कोरोनाबिरुद्धको १५० मिलिग्रामको यो चक्की दिनको दुईपटक खुवाउन सकिनेछ । फाइजरले यस अगाडि सबै तथ्यांकहरु थ्यांक्सगिभिङ अगाडि नै एफडीएलाई बुझाउने घोषणा गरेको थियो ।

बाइडेन प्रशासनले यसैसाता फाइजरका १० मिलियन चक्की किन्नका लागि कैयन मिलियन डलरको सम्झौता गर्ने भएको छ । यसभन्दा अगाडि कोरोनाबिरुद्धको खानेचक्कीमा सफलता पाएको मेरेकले एफडीएसमक्ष आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिइसकेको छ । मेरेकको चक्कीले कोरोना संक्रमितहरु अस्पताल भर्ना हुने र मृत्यु हुने दर ५० प्रतिशत घटाएको थियो ।

मंगलबार नै  फाइजरले कोरोनाबिरुद्धको चक्की गरिव देशहरुमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने सम्झौता गरेको घोषणा गरेको थियो । कम्पनीले घोषणा गरेको सम्झौता अनुशार कोभिड १९ बिरुद्धको उपचारमा धेरैको पहुच त कायम हुनेछ तर सम्झौतामा कोरोनाको चपेटमा परेका कैयन देशलाई भने समावेश गरिएको छैन । सुचीमा नेपाल भने समावेश रहेको छ । अर्थात् नेपालले कोरोनाबिरुद्धको फाइजरको चक्की सस्तो मूल्यमा प्राप्त गर्न सक्नेछ ।

फाइजरले कोरोनाबिरुद्धको चक्की ९५ देशमा उत्पादन गर्न र सस्तोमा बेच्न अनुमति दिने भएको छ, जसले विश्वको जनसंख्याको झण्डै आधा जनसंख्या समेट्नेछ । गत महिना कोरोनाबिरुद्धको चक्की उत्पादन गरिरहेको मेरेककै जस्तो सहमति फाइजरले पनि गरेको हो ।

मेरेक र फाइजरको यो घोषणापछि यी दुई कम्पनीले विकाश गरेका दुई साधारण चक्कीको उत्पादन सहजरुपमा नै विश्वब्यापी हुनेछ । कोरोना संक्रमणपछि तुरुन्तै सेवन गर्नुपर्ने यी चक्कीहरु कोरोनाबाट सिकिस्त हुनबाट बचाउन प्रभावकारी रहेका छन् ।

सहमति अनुशार फाइजरले राष्ट्रसंघको सहयोग प्राप्त गैरनाफामुलक संस्था मेडिसिन पेटेन्ट पुललाई चक्कीको रोयल्टी फ्रि लाइसेन्स दिनेछ । उनीहरुले औषधी उत्पादनका लागि फाइजरको फर्मुला प्राप्त गर्नेछन् । र, ९५ देशहरुमा प्रयोगका लागि सस्तोमा बेच्न सक्नेछन् । अधिकांश देशहरु एसिया र अफ्रिकाका रहेका छन् । मेरेकले भने १०५ देशलाई सस्तोमा चक्की उपलब्ध गराउन यस्तो सम्झौता गरेको हो ।

मेरेकको सम्झौतामा जस्तै कोरोनाबाट अत्यन्तै प्रभावित ब्राजिल, क्युबा, इराक, लिबिया, जमैका लगायतलाई समावेश गरिएको छैन । यी देशहरुले सिधै फाइजरबाट महँगोमा चक्की किन्नुपर्नेछ । चीन र रसियालाई पनि फाइजर र मेरेक दुबैले सम्झौतामा छुटाएका छन् ।

कोरोनाबिरुद्धको फाइजरले उत्पादन गरेको चक्की पाक्स्लोभीड कोरोनाबाट सिकिस्त हुनबाट रोक्न उच्च प्रभावकारी देखिएको छ । परीक्षणका क्रममा भ्याक्सिन नलगाएकाहरुलाई यो चक्की दिइएको थियो । यी चक्कीहरु भ्याक्सिन लगाउने दर कम भएका मुलुकहरुमा तत्कालै आवश्यक रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com