कोरोना संक्रमणबाट अमेरिकामा हिम चितुवाहरु एभरेष्ट, मकालु र रेनीको मृत्यु
प्रकाशित मिति : कार्तिक २९, २०७८ सोमबार
अमेरिकाको नेब्रास्कामा कोरोना संक्रमणबाट तीनवटा हिमचितुवाको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणपछिको जटिलताबाट हिमचितुवाको मृत्यु भएको जनाइएको छ ।
लिंकन चिडियाखानाका दुईवटा सुमात्रा बाघहरु एक्सल र कुमारलाई पनि कोरोना संक्रमण भएको चिडियाखानाले जनाएको छ । तर ति बाघहरु पनि निको हुन सफल भएका छन् ।
चिडियाखानाभित्र र बाहिर समुदायका प्रिय हिमचितुवाहरु रेनी, एभरेष्ट र मकालुको निधन भएको तथा यस्तो क्षति हृदयविदारक रहेको चिडियाखानाले जारी गरेको वक्तव्यमा जनाइएको छ । मान्छेबाट जनावरमा कोरोना सर्नबाट रोक्न हरेक प्रकारका उपायहरु अपनाउने क्रम जारी रहनेमा चिडियाखानाले जोड दिएको छ ।

यो चिडियाखानामा पहिलो पटक जनावरलाई कोरोना संक्रमण अक्टोबर १३ मा भएको पुष्टी भएको थियो । जनावरहरुमा कोरोना संक्रमणको लक्षण देखिएपछि कर्मचारीले यसबारे थाहा पाएका थिए । थप संक्रमण हुन नदिन जनावरहरुलाई स्टेरोइड र एन्टीबायोटिकले उपचार गरिएको थियो ।

चिडियाखानामा रहेका अन्य जनावरलाई भने कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । सीडीसीले मान्छेबाट जनावरमा कोरोना संक्रमण हुने सम्भावना अत्यन्तै कम हुने बताएको छ । तर कहिलेकाँही संक्रमणको सम्भावना भएको नकार्न नसकिने जनाएको छ ।
कभरमा अमेरिकाको सान डिएगो चिडियाखानामा रहेको हिमचितुवा ।






