अमेरिकामा ५२ बर्ष अगाडि बैंक लुट्ने व्यक्तिको श्रद्धाञ्जली हेरेर पहिचान, नाम फेरेर बोस्टनमा
प्रकाशित मिति : कार्तिक २८, २०७८ आईतबार
५२ बर्ष अगाडि अमेरिकाको बैंकमा लुटपाटपछि फरार एकजना व्यक्तिको पहिचान गरिएको कानून कार्यान्वयन अधिकारीहरुले जानकारी दिएका छन् । क्लीभल्याण्ड ओहायोको सोसाइटी नेशनल बैंकमा टेलरका रुपमा कार्यरत टेड कोर्नाड नामको व्यक्तिले सन् १९६९ को जुलाईमा आफ्नै रोजगारदातालाई लुटेको जनाइएको छ ।
उक्त व्यक्ति २ लाख १५ हजार डलर लिएर भागेको र अहिलेको उक्त रकम १७ लाख डलर बराबर रहेको जनाइएको छ । यूएस मार्शल सर्भिसका अनुसन्धानकर्ताहरुले उक्त व्यक्ति शान्त र सरल जीवन विताउदै लुकेर बसेको एवं फोक्सोको क्यान्सरबाट गत मेमा मृत्यु भइसकेको जनाएका छन् । लुटपाट गर्नेबेलामा उक्त व्यक्ति २० बर्षकोमात्र रहेको जनाइएको छ ।
बैंकको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउदै उक्त व्यक्तिले शुक्रबार बेलुका बैंकको शाखा बन्द भइसकेपछि उक्त व्यक्तिले खैरो झोलामा पैसा भरेर भागेको थियो । त्यतीबेलाका कर्मचारीहरुले बैंक लुट्ने कोर्नाड बेपत्ता भएको २ दिनपछिमात्र बैंकबाट रकम गायव भएको थाहा पाएका थिए ।
उक्त व्यक्तिबिरुद्ध झण्डै ५० बर्ष खोजी अभियान चलाइएको थियो भने अमेरिकाको मोस्ट वान्टेड जस्ता टेलिभिजन कार्यक्रममा समेत देखाइएको थियो । तर पनि उक्त व्यक्ति भएको स्थान पत्ता लागेको थिएन । उक्त व्यक्तिले बैंक लुट्ने योजनाबारे साथीहरुसँग कुराकानी गरेको मार्शल सर्भिसले जनाएको छ ।

उक्त व्यक्ति सन् १९६८ को स्टीभ म्याकक्वीनको डकैती सम्बन्धि चलचित्र द थोमस क्राउन अफेयरबाट प्रभावित भएको जनाइएको छ । लुटपाटभन्दा अगाडि उक्त व्यक्तिले यो चलचित्र झण्डै १ दर्जन पटक हेरेको थियो । बेपत्ता भइसकेपछि उक्त व्यक्तिले आफ्नो नाम परिवर्तन गरेर थोमस रेनडेल बनाएको तथा वासिंटन डिसी र लस एन्जलस भागेको मार्शल सेवाको भनाई छ । पछि घटनास्थलभन्दा १ हजार किलोमिटर टाढा बोस्टनको ग्रामिण क्षेत्रमा बसोबास गरेको जनाइएको छ ।
बोस्टनमा उक्त व्यक्तिले शान्त तथा सरल जीवन बाँचेको अनुसन्धानकर्ताले बताएका छन् । विगत ४० बर्ष गल्फ पेशेवरका रुपमा समेत काम गरेको न्युयोर्क टाइम्सले जनाएको छ । यो मामला दशकौंसम्म अनुसन्धानकर्ताहरुहरुका लागि समाधान नभएको रहस्यका रुपमा रहेको थियो । तर जब मे महिनामा पत्रिकामा श्रद्धाञ्जली प्रकाशित भयो, त्यतिबेला सन् १९६० को दशकको कागजातसँग मिलाएर हेर्दा उक्त व्यक्ति ५० बर्ष अगाडि बैंक लुट्ने व्यक्ति भएको थाहा भएको थियो ।
युएस मार्शलका जोन इलियटले सन् १९६० को दशकमा यो लुटपाटको अनुसन्धान सुरु गरेका थिए । सन् १९९० सम्म उनले घटनाको अनुसन्धान गरेका थिए । उनी रिटायर्ड भएपछि उनका छोरा युएस मार्शलमा कार्यरत पिटर इलियटले यो मामलाबारे अनुसन्धान गरिरहेका थिए । पिटरभन्दा अगाडि घटनाको अनुसन्धान गरेका जोन इलियटको पनि सन् २०२० मा निधन भइसकेको छ ।






